ह्वाइट हाउसमा ट्रम्प–जेलेन्स्की वार्ता,रुस–युक्रेन युद्ध अन्त्यका लागि अमेरिकी पहल सकारात्मक

काठमाडौँ । २०२२ फेब्रुअरीदेखि जारी रुस–युक्रेन युद्ध अन्त्यका लागि अमेरिकाको ह्वाइट हाउसमा भएको वार्ता सकारात्मक भएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन्। सोमबार अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीबीच भएको भेटवार्तामा युद्धविरामतर्फ सकारात्मक संकेत देखिएको बताइएको छ।

जेलेन्स्कीले बैठकमा सम्बोधन गर्दै युद्ध अन्त्य सबैको प्राथमिकता भएको उल्लेख गर्दै सुरक्षाको ग्यारेन्टीबारे अझै छलफल आवश्यक हुने बताए। उनले अमेरिकाबाट प्राप्त सन्देशले ठूलो भरोसा दिएको भन्दै यो ट्रम्पसँगको अहिलेसम्मको उत्कृष्ट वार्ता भएको प्रतिक्रिया दिएका छन्। युक्रेन त्रिपक्षीय वार्ताका लागि तयार रहेको उनको भनाइ छ।

राष्ट्रपति ट्रम्पले पनि भेटलाई सफल बताउँदै अमेरिका, युक्रेन र रुसबीच त्रिपक्षीय बैठक गर्न पहल भइरहेको जानकारी दिएका छन्। उनले रुसले समेत सुरक्षा ग्यारेन्टीबारे सकारात्मक संकेत दिएको भन्दै युद्ध अन्त्यका सम्भावना बढेको टिप्पणी गरे।

यस्तै, वार्ता सकिएलगत्तै ट्रम्पले युरोपेली नेताहरूसँग पनि छलफल गरेका छन्। नेताहरूले युद्ध रोक्नुपर्नेमा एउटै स्वर दिएका थिए। नेटोका महासचिव मार्क रुट्टेले युद्धको विध्वंस रोक्नुपर्ने बताए भने युरोपेली आयोगकी अध्यक्ष उर्सुला भोन डेर लेयेनले दिगो शान्तिका लागि सबै एकजुट भएर काम गर्नुपर्ने धारणा राखिन्।

जर्मनीका चान्सलर फ्रेडरिक मर्जले अर्को बैठक युद्धविरामको आधारमै हुनुपर्ने बताए। इटालीकी प्रधानमन्त्री जर्जिया मेलोनीले शान्तिको पूर्वसर्त सुरक्षाको ग्यारेन्टी भएको उल्लेख गरिन् भने फ्रान्सका राष्ट्रपति इमानुएल म्याक्रोंले त्रिपक्षीय बैठकलाई मात्र समाधानको बाटो बताए। बेलायतका प्रधानमन्त्री कियर स्टार्मरले पनि युद्धले युरोप र बेलायतमा असर पारिरहेको भन्दै तत्काल समाधान खोज्नुपर्नेमा जोड दिए।

गत अगस्ट १५ मा रुसी राष्ट्रपति भ्लादिमिर पुटिनसँगको वार्ता असफल भएपछि ट्रम्पले जेलेन्स्कीलाई ह्वाइट हाउस निम्त्याएका थिए। पछिल्ला वार्ताले युद्धविरामप्रति केही आशा जगाएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरूले जनाएका छन्।

प्रतिक्रिया

ताजा समाचार

लोकप्रिय