काठमाडौं – अब बालबालिकाका लागि आवश्यक सम्पूर्ण सामग्री एकै स्थानमा सहज रूपमा उपलब्ध हुने भएको छ। ‘जिरो टु टेन’ नामक नयाँ स्टोरले शून्य देखि १० वर्ष उमेरसम्मका बालबालिकालाई लक्षित गर्दै काठमाडौंको नयाँ बानेश्वरमा सेवा सुरु गरेको छ।
शनिबार मिराकल प्लाजाको भुइँतल्लामा उद्घाटन गरिएको यो स्टोरमा लत्ता कपडा, अध्ययन सामग्री, खेलौना, खेलकुद सामग्री, कस्मेटिक, बेबी क्यारी, इलेक्ट्रोनिक टय, जुत्ता, ब्याग लगायतका सामानहरू पाइने छन्। स्टोरका सञ्चालक विष्णु पोखरेलका अनुसार, फरक फरक ठाउँमा सामान खोज्नुपर्ने बाध्यता हटाउँदै सबै आवश्यक सामग्री एकै छानामुनि उपलब्ध गराउने उद्देश्यले यो स्टोर सञ्चालनमा ल्याइएको हो।
‘जिरो टु टेन’ स्टोर अन्तर्राष्ट्रिय ब्रान्ड डक्टर जिम र बीबी किट्टीको आधिकारिक बिक्रेता पनि हो। करिब पाँच करोड रुपैयाँको लगानीमा स्थापना भएको स्टोरले अपाङ्गता भएका बालबालिकाका लागि विशेष छुटको व्यवस्था गरेको छ। उद्घाटनको दिन सबै सामानमा १० प्रतिशत छुट र स्टोरमा आउने ग्राहकका लागि उपहारको व्यवस्था गरिएको थियो।
सञ्चालक पोखरेलका अनुसार, यसै आर्थिक वर्षभित्र ललितपुरको इमाडोल र कैलालीको धनगढीमा शाखा विस्तार गरिने योजना छ। साथै, अन्य जिल्लाहरूमा समेत शाखा विस्तारको तयारी भइरहेको र प्रविधिमैत्री सेवाका लागि इ–कमर्स तथा अनलाइन डेलिभरी सेवा सुरु गर्ने कार्य पनि अगाडि बढाइएको छ।