काठमाडौँ — नेपालमा हाल पश्चिमी वायु र स्थानीय वायुको प्रभाव कायम रहेको छ। जल तथा मौसम विज्ञान विभागअन्तर्गत मौसम पूर्वानुमान महाशाखाका अनुसार अहिले कोशी, बागमती र गण्डकी प्रदेशका केही स्थानमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षा भइरहेको छ।
आज दिउँसो कोशी प्रदेशसहित बागमती र गण्डकी प्रदेशका हिमाली तथा पहाडी भूभागमा सामान्यतया बादल लाग्नेछ। मधेश प्रदेश र अन्य प्रदेशका पहाडी तथा हिमाली क्षेत्रमा आंशिक बदली रहनेछ भने तराईका अधिकांश भूभागमा मौसम मुख्यतया सफा रहने पूर्वानुमान छ।
कोशी प्रदेशका हिमाली तथा पहाडी क्षेत्रमा केही स्थानमा तथा बागमती र गण्डकी प्रदेशका थोरै स्थानमा मध्यम वर्षा र हिमपात हुने सम्भावना रहेको छ। साथै, मधेश, कोशी, बागमती र गण्डकी प्रदेशका तराई तथा अन्य पहाडी क्षेत्रमा एक–दुई स्थानमा मेघगर्जन र चट्याङसहित हल्का वर्षाको सम्भावना रहेको छ।
यता, सुदूरपश्चिम र लुम्बिनी प्रदेशका तराई क्षेत्रमा तापक्रम बढ्ने सम्भावना रहेको विभागले जनाएको छ।
आज राति पनि कोशी, बागमती र गण्डकी प्रदेशका हिमाली तथा पहाडी क्षेत्रमा सामान्य बदली रहनेछ भने अन्य क्षेत्रमा आंशिक बदली रहनेछ। तराई भूभागमा मौसम प्रायः सफा रहनेछ। रातिको समयमा पनि यी प्रदेशका केही स्थानमा मेघगर्जन र चट्याङसहित हल्का वर्षा र हिमपातको सम्भावना रहेको छ।