निजी क्षेत्र राष्ट्रको इन्जिन हो: अर्थमन्त्री रामेश्वर खनाल

काठमाडौं । अर्थमन्त्री रामेश्वर खनालले अहिले मुलुकमा लगानीका लागि अत्यन्तै अनुकूल वातावरण रहेको बताएका छन्। नेपाल उद्योग वाणिज्य महासंघले आयोजना गरेको ‘शान्ति, स्थायित्व र समृद्धिका लागि सहकार्य’ विषयक सर्वपक्षीय राष्ट्रिय संवाद कार्यक्रममा बोल्दै उनले यस्तो धारणा राखेका हुन्।

उनले चालु खाता बचतमा हुनु र शोधनान्तर स्थितिसमेत सकारात्मक हुनु लगानीका लागि राम्रो संकेत भएको बताए। तर लगानी वृद्धिको दर भने कमजोर देखिनुबाट निजी क्षेत्रको मनोबल अझै पूर्ण रूपमा उकासिन नसकेको संकेत पाइने उनले उल्लेख गरे।

अर्थमन्त्री खनालका अनुसार नयाँ सरकार बनेपछि पहिलो कामकै रूपमा निजी क्षेत्रसँग निरन्तर संवाद गरिएको छ। ती संवादहरूका क्रममा निजी क्षेत्रले ‘हामी फेरि उठ्छौं’ भन्ने दृढता व्यक्त गरेको उनले बताए।

उनले निजी क्षेत्रलाई मुलुकको इन्जिनको रूपमा अभिव्यक्ति दिँदै त्यसले सिर्जना गर्ने सम्पत्ति केवल लगानीकर्ताको मात्र नभई राष्ट्रकै सम्पत्ति हुने बताए। निजी क्षेत्रले कमाएको नाफाबाट सरकारलाई जाने कर, कर्मचारीले पाउने बोनस र सामाजिक उत्तरदायित्व (सीएसआर) मार्फत समाजले पाउने सेवाले नाफा समग्र समाजकै हितमा प्रयोग हुन्छ भन्ने धारणा उनले व्यक्त गरे।

अर्थमन्त्री खनालले प्रत्येक आन्दोलन र विद्रोहमा निजी क्षेत्र नै पहिलो लक्ष्य बन्नु चिन्ताजनक भएको बताए। उनका अनुसार सरकार–निजी क्षेत्र, निजी क्षेत्र–राजनीतिक दलबीच मात्र होइन, निजी क्षेत्र र नागरिकबीचको विश्वास पनि बलियो बनाउन जरुरी छ।

उनले देशभित्र सिर्जना हुने सम्पत्ति र लगानी समष्टिगत रूपमा समाजको हितका लागि हुने हुँदा त्यसमा क्षति पुर्‍याउनु सबैका लागि घाटा हुने कुरा राजनीतिक दल र निजी क्षेत्रले जनस्तरसम्म पुर्‍याउनुपर्ने औंल्याए।

प्रतिक्रिया