विदेशबाट आयात ६३.७ प्रतिशतले बढ्यो

काठमाडौं—मुलुकको वैदेशिक व्यापार चिन्ताजनक अवस्थामा पुगेको छ । वर्षेनी वैदेशिक व्यापार घाटा बढी रहेको छ  चालु आर्थिक वर्षको पहिलो त्रैमासमा आयात ६३.७ प्रतिशतले बढेको छ ।

गत आर्थिक वर्ष भन्दा यो वर्ष आयात बढेर तीन महिनामा ४ खर्ब ७८ अर्ब ५२ करोड रुपयैयाँको आयात भएको हो । गत आवको सोही अवधिमा दुई खर्ब ९२ अर्ब २६ करोड रुपैयाँको वस्तु आयात भएको थियो ।


स्वदेशमा वस्तुको उत्पादन वृद्धि नहुँदा अधिकांश सामान विदेशबाट आउँदा आयात बढेको हो । पेट्रोलिय पदार्थ, यातायातका साधान, पाटपूर्जा, सोयाविनको तेल, सुन, चाँदी लगायतका वस्तुको आयात बढेको छ । 


मुलुकको व्यापार घाटा बढेको छ । तीन महिनाको अवधिमा जम्मा ६५ अर्ब पाँच करोड रुपैयाँको मात्र निर्यात भएको छ । गत वर्षको तुलनामा निर्यात १०९ प्रतिशतले वृद्धि भए पनि निर्यातको हिस्सा निकै सानो छ । गत आवको सोही अवधिमा ३१ अर्ब रुपैयाँको सामान निर्यात भएको थियो । निर्यातमा सबैभन्दा धेरै भारत हुने गरेको छ । निर्यात हुने वस्तुमा सोयाविनको तेल, पाम तेल, पिना, जुटकासामान, धागो लगायतका वस्तुको निर्यात बढेको छ । चिया, आयुर्वेदिक औषधी, तार,जस्तापाता, अलैंची लगायत वस्तुको  निर्यात घटेको छ ।


स्वदेशमा उत्पादन नहुने पेट्रोलियम पदार्थ, औद्योगिक कच्चा पदार्थ विदेशबाट आयात गर्नु स्वभाविक भए पनि यहीँ उत्पादन गर्न सकिने वस्तु पनि विदेशबाट आायत भैरहेको छ । औद्योगिक उत्पादन वृद्धि नहुनु स्वदेशमा उत्पादन हुने कृषिजन्य वस्तु आयात हुनु अर्थतन्त्रका लागि राम्रो मानिँदैन ।


दैनिक उपभोग्य वस्तुको आयात वृद्धि र व्यापार घाटा बढ्नु चिन्ताको विषय भएको अर्थतन्त्रका जानकार बताउँछन् । मुलुकको व्यापार घाटा पोहोरको तुलनामा ५८ प्रतिशतले बढेको छ । गत वर्षको तीन महिनामा दुई खर्ब ६१ अर्ब २२ करोडको व्यापार घाटा रहेकोमा यो वर्ष बढेर चार खर्ब १३ अर्ब ४७ करोड रुपैयाँ रहेको छ । 

प्रतिक्रिया