काठमाडौं – क्रेष्ट माइक्रो लाइफ इन्सुरेन्सको प्राथमिक सार्वजनिक निष्कासन (आइपीओ) चैत ५ गते मंगलबार बाँडफाँट हुने भएको छ। बिक्री प्रबन्धक एनआइएमबी एस क्यापिटलका अनुसार बिहान ८:३० बजे काठमाडौं लाजिम्पाटस्थित कार्यालयमा बाँडफाँट गर्ने तयारी गरिएको छ।
यस आइपीओमा मागभन्दा १३.२७ गुणा बढी आवेदन परेका कारण गोलाप्रथाबाट मात्र बाँडफाँट हुने भएको छ। कुल २० लाख ४८ हजार ५३८ आवेदकले २ करोड ४४ लाख ९२ हजार १७० कित्ताका लागि आवेदन दिएका थिए, तर भाग्यले साथ दिए मात्र सेयर हात लाग्नेछ। कुल १ लाख ८४ हजार ५०० जनाले मात्र सेयर पाउनेछन् भने बाँकी १८ लाख ६४ हजार ३८ जना आवेदक खाली हात रहनेछन्।
क्रेष्ट माइक्रोले फागुन २२ देखि २६ गतेसम्म प्रतिकित्ता १०० रुपैयाँ दरमा १८ लाख ४५ हजार कित्ता सेयर निष्कासन गरेको थियो। कम्पनीले नेपाल धितोपत्र बोर्डबाट २२ लाख ५० हजार कित्ता आइपीओ जारी गर्ने अनुमति पाएको थियो। जसमध्ये वैदेशिक रोजगारीमा रहेका नेपालीका लागि २ लाख २५ हजार कित्ता, कर्मचारीका लागि ६७ हजार ५०० कित्ता र सामूहिक लगानी कोषका लागि १ लाख १२ हजार ५०० कित्ता छुट्याइएको थियो। बाँकी १८ लाख ४५ हजार कित्ता सेयर सर्वसाधारणका लागि खुला गरिएको थियो।
यस आइपीओलाई रेटिङ एजेन्सी इक्रा नेपालले ‘इक्राएनपी इस्युआर डबल बी’ रेटिङ प्रदान गरेको छ, जसले कम्पनीको दायित्व बहन गर्ने क्षमतामा मध्यमस्तरको जोखिम रहेको संकेत गर्छ। इक्रा नेपालले यो रेटिङ २०८१ भदौ ७ गते प्रदान गरेको हो, जुन २०८२ भदौ ५ गतेसम्म मान्य रहनेछ।