काठमाडौं — अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पतञ्जली योगपीठसँग सम्बन्धित जग्गा सट्टापट्टा प्रकरणमा अनियमितता गरेको आरोपमा पूर्वप्रधानमन्त्री तथा नेकपा (एकीकृत समाजवादी) अध्यक्ष माधवकुमार नेपालसहितका विरुद्ध विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर गरेको छ। आयोगका उच्च स्रोतका अनुसार बिहीबार दिउँसो उक्त मुद्दा दर्ता गरिएको हो।
नेपालको इतिहासमै पहिलोपटक कुनै पूर्वप्रधानमन्त्रीविरुद्ध भ्रष्टाचारसम्बन्धी मुद्दा दर्ता भएको हो। यस्तै, मन्त्रिपरिषद्को निर्णयसँग सम्बन्धित विषयमा भ्रष्टाचार मुद्दा चलेको पनि यो पहिलोपटक हो।
अख्तियारले यसअघि पतञ्जलीको नाममा गरिएको सरकारी जमिनको सट्टापट्टासम्बन्धी प्रक्रियामा अनियमितता भएको आशंकामा अनुसन्धान थालेको थियो। सोही क्रममा आयोगले माधवकुमार नेपालसँग बयान पनि लिएको थियो।
भ्रष्टाचार मुद्दा दायर भएसँगै संविधानअनुसार नेपालको प्रतिनिधिसभा सदस्य पद स्वतः निलम्बनमा परेको हो।