अमेरिकी राष्ट्रपति Donald Trump ले इजरेलले इरानमाथि गरेको आक्रमणमा अमेरिका पनि सहभागी भएको पुष्टि गरेका छन्। उनले आफ्नै सामाजिक सञ्जाल प्लेटफर्म Truth Social मार्फत सार्वजनिक गरेको करिब आठ मिनेट लामो भिडिओ सन्देशमा उक्त जानकारी दिएका हुन्।
भिडिओ सन्देशमा ट्रम्पले अमेरिकाले ‘महत्त्वपूर्ण युद्ध कारबाही’ सुरु गरेको दाबी गर्दै इरानसँग बारम्बार सहमति गर्ने प्रयास गरिएको तर त्यसबाट परिणाम ननिस्किएको बताएका छन्। “हामीले धेरै पटक सम्झौता गर्न खोज्यौँ, निकै प्रयास गर्यौँ,” उनले भनेका छन्। साथै, इरानको क्षेप्यास्त्र क्षमता र त्यससँग सम्बन्धित उद्योगलाई पूर्ण रूपमा ध्वस्त पार्ने चेतावनीसमेत दिएका छन्। “हामी उनीहरूको क्षेप्यास्त्र नष्ट पारिदिन्छौँ र उनीहरूको क्षेप्यास्त्र उद्योग ध्वस्त पारिदिन्छौँ, त्यो पूर्ण रूपमा समाप्त हुनेछ,” उनले भने।
यसअघि इजरेली र अमेरिकी सञ्चारमाध्यमहरूले इजरेलले अमेरिकासँग समन्वय गरेर इरानमाथि आक्रमण गरेको उल्लेख गरेका थिए। अमेरिकी टेलिभिजन नेटवर्क CNN ले दुवै देशबीच समन्वय भएको जनाएको थियो भने इजरेलको समाचार पोर्टल Ynet ले पनि सोही आशयको समाचार प्रकाशन गरेको थियो।