प्रधानमन्त्री ओली एससिओ शिखर सम्मेलनमा सहभागी हुन चीन प्रस्थान

प्रधानमन्त्री केपी शर्मा ओली चीन प्रस्थान गरेका छन्। उनी आज बिहान ७ बजे सांघाई कोअपरेसन अर्गनाइजेसन (एससिओ) को शिखर सम्मेलनमा सहभागी हुन त्यसतर्फ प्रस्थान गरेका हुन्।

ओलीलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा उपप्रधानमन्त्री तथा शहरी विकास मन्त्री प्रकाशमान सिंह, गृहमन्त्री रमेश लेखक, परराष्ट्रमन्त्री आरजु राणा देउवाले बिदाइ गरे। यस क्रममा नेपाली सेनाको टुकडीले उनलाई गार्ड अफ अनर प्रदान गरेको थियो।

पाँच दिने भ्रमणका क्रममा प्रधानमन्त्री ओलीले चिनियाँ राष्ट्रपति सी चिनफिङ र उपराष्ट्रपति हान चङसँग भेटवार्ता गर्ने कार्यक्रम छ। उनले भदौ १६ गते थियानजिनमा हुने एससिओ प्लस शिखर सम्मेलनमा नेपालका तर्फबाट सम्बोधन गर्नेछन्।

त्यसैगरी, ओलीले विभिन्न मुलुकका राष्ट्र तथा सरकार प्रमुखहरूसँग पनि छुट्टाछुट्टै द्विपक्षीय भेट गर्ने कार्यक्रम रहेको छ। बेइजिङमा पुगेर उनले रूसी राष्ट्रपति भ्लादिमीर पुटिन, माल्दिभ्सका राष्ट्रपति डा. मोहमद मिज्जु, कम्बोडियाका प्रधानमन्त्री डा. सोमदेक मोहा बोरभोर तिपाहदे हुन महानेट, लाओसका प्रधानमन्त्री सोनेसाइ सिपानडोन र भियतनामका प्रधानमन्त्री फाम मिन चिङसँग भेट्नेछन्।

भ्रमणको अन्तिम कार्यक्रममा प्रधानमन्त्री ओलीसहितको नेपाली प्रतिनिधिमण्डलले भदौ १८ गते बेइजिङमा आयोजना हुने ‘फासिवादविरुद्धको विश्वयुद्ध र जापानविरुद्धको चिनियाँ जनताको प्रतिरोधी युद्ध’ मा विजय प्राप्त भएको ८०औं वार्षिकोत्सव समारोहमा सहभागिता जनाउनेछ। सो कार्यक्रममा ५० भन्दा बढी देशका प्रतिनिधिहरू सहभागी हुने अपेक्षा गरिएको छ।

प्रधानमन्त्री ओलीसँगै भ्रमणमा प्रतिनिधिसभा सदस्य राधिका शाक्य, पूर्व उपप्रधानमन्त्री पूर्णबहादुर खड्का, शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री रघुजी पन्त, संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री बद्रीप्रसाद पाण्डे, प्रधानमन्त्रीका आर्थिक तथा विकास सल्लाहकार डा. युवराज खतिवडा, प्रतिनिधिसभा सदस्य छबिलाल विश्वकर्मा र नेपाल सरकारका उच्चपदस्थ अधिकारीहरू पनि सहभागी छन्।

प्रतिक्रिया