• गृहपृष्ठ /
  • Breaking News ,
  • समाचार ,
  • जलविद्युत ,
  • अर्थतन्त्र ,
  • पत्रपत्रिका

बंगलादेशसँग डलरमा विद्युत् खरिद–बिक्री सम्झौता

काठमाडौं - बिक्रीदर तय गर्न नेपाल विद्युत् प्राधिकरणको टोली बंगलादेश प्रस्थान गरेको छ । प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङ नेतृत्वको टोली बुधबार बंगलादेश गएको हो । टोलीले बिहीबार बंगलादेशको पावर डेभलपमेन्ट बोर्डसँग छलफल गरेर विद्युत् खरिद–बिक्रीदर टुंगो लगाउनेछ । टोलीमा प्राधिकरणका उच्च अधिकारीसहित कानुन तथा विद्युत् व्यापार बिभागका प्रतिनिधिहरू छन् । बिहीबार छलफलले पीपीए दरसँगै भुक्तानी गर्ने समयसीमा, विद्युत् उपलब्ध गराउन नसके हुने पेनाल्टीलगायत बिषयमा पनि सहमति गरिनेछ । 

 

ह्विलीङ चार्ज भने बंगलादेशले नै तिर्ने प्रारम्भिक सहमति भएको छ ।बंगलादेशले गत माघ दोस्रो साता ४० मेगावट विद्युत् किन्ने नेपालसँग प्रस्ताव मागेको थियो । त्यसलगत्तै प्राधिकरणले बंगलादेशमा पेस गरेको प्रस्तावमा बिहीबार छलफल गरी अन्तिम रूप दिइने प्राधिकरणका कार्यकारी निर्देशक घिसिङले जानकारी दिए ।

‘बंगलादेशमा विद्युत् बिक्री गर्न भारतलाईसमेत समावेश गराएर छुट्टै त्रिपक्षीय सम्झौता हुँदै छ । जुन सम्झौता विद्युत् व्यापारसम्बन्धी सर्त तथा प्रावधानमा केन्द्रित हुनेछ,’ बंगलादेश प्रस्थान गर्नुअघि उनले भने, ‘त्योबाहेक बंगलादेशमा बिक्री गरिने विद्युत्को मूल्य तय गर्न छुट्टै द्विपक्षीय सम्झौता आवश्यक थियो । त्यसपछि खरिद प्रक्रियामार्फत यसको मूल्य तय गरिँदै छ । बिहीबारकै छलफलबाट त्यो दर तय हुनेछ ।’

बिहीबार तय हुने मूल्यदरलाई बंगलादेशले आफ्नो मन्त्रीस्तरीय बैठक वा मन्त्रिपरिषद्बाट स्वीकृत गर्नेछ । त्यसपछि प्राधिकरण र बंगलादेशको पावर डेभलपमेन्ट बोर्डबीच विद्युत् खरिद–बिक्री सम्झौता हुनेछ । यस्तै, कार्यकारी निर्देशक घिसिङले त्रिपक्षीय सम्झौता पनि छिट्टै हुने बताए । ‘त्रिपक्षीय सम्झौतापत्रको मस्यौदामा नेपाल, भारत र बंगलादेशले सहमति जनाइसकेका छन् । तसर्थ, अब त्रिपक्षीय सम्झौता पनि छिट्टै हुन्छ,’ उनले बताए । प्राधिकरण, बंगलादेशको पावर डेभलपमेन्ट बोर्ड र भारतको एनटिपिसी विद्युत् व्यापार निगमबीच त्रिपक्षीय सम्झौता हुनेछ । 

नेपाल र बंगलादेशबीच सीमा नजोडिएको कारण दुई देशबीच डेडिकेटेड अन्तरदेशीय प्रसारण लाइन पनि छैन । त्यसैले, तत्काललाई भारतीय प्रसारण लाइन हुँदै बंगलादेश विद्युत् पु¥याउने योजना छ । त्यसबापत भारतले ह्विलिङ चार्जबापत केही रकम पाउनेछ । बंगलादेशसँग डलरमा पिपिए गरिने

बंगलादेशसँग तय हुने विद्युत् खरिद–बिक्रीदर (मूल्य) डलरमा तय गरिने प्राधिकरणका कार्यकारी निर्देशक घिसिङले बताए । प्रतियुनिट सात सेन्ट (बुधबारको विनिमयदरअनुसार ९.३१ रुपैयाँं) हाराहारीमा पिपिए दर निर्धारण हुन सक्ने प्राधिकरणको भनाइ छ । अहिले प्राधिकरणले भारतमा मध्यकालीन मोडेलमा प्रतियुनिट ५.२५ भारु (८.४० रुपैयाँ)मा विद्युत् बिक्री गरेको छ । 

त्योभन्दा उच्चदरमा बंगलादेशसँग पिपिए हुने घिसिङको भनाइ छ । जिएमआरले नौ सय मेगावाटको अपर कर्णाली जलविद्युत् आयोजनाको पाँच सय मेगावाट विद्युत् बंगलादेशमा बिक्री गर्दै छ । त्यसमा भने बंगलादेशले प्रतियुनिट ७.७१२ सेन्टमा विद्युत् किन्ने गरी जिएमआरलाई ०१९ मै आशयपत्र पठाएको थियो । तर, प्राधिकरणले भने त्योभन्दा कम मूल्यमा पिपिए गर्ने सम्भावना रहेको छ । आजको नयाँ पत्रिकाबाट 

प्रतिक्रिया