धान रोपाइँ सुस्त : यो वर्ष ४.२९ प्रतिशत कमी

काठमाडौं । यस वर्ष धान रोपाइँको गति सुस्त भएको छ। कृषि विभागका अनुसार हालसम्म कुल खेतीयोग्य जमिनको ९४.१५ प्रतिशतमा मात्र रोपाइँ सम्पन्न भएको छ, जुन अघिल्लो वर्षको ९८.४४ प्रतिशतभन्दा ४.२९ प्रतिशत कम हो।

समयमै पर्याप्त वर्षा नपरेको र मनसुन ढिलो सक्रिय भएकाले रोपाइँमा ढिलाइ भएको बताइएको छ। मधेस प्रदेशमा सबैभन्दा सुस्त प्रगति देखिएको छ, जहाँ हालसम्म ८६.३५ प्रतिशत मात्रै रोपाइँ सकिएको छ। तर सुदूरपश्चिम प्रदेश भने ९९.७२ प्रतिशतसहित अग्रस्थानमा रहेको छ।

अन्य प्रदेशको अवस्थामध्ये कर्णालीमा ९९.३४, लुम्बिनीमा ९८.०७, बागमतीमा ९७.२७, गण्डकीमा ९४.८३ र कोशीमा ९४.४२ प्रतिशत रोपाइँ सम्पन्न भइसकेको विभागले जनाएको छ।

देशभर हालसम्म करिब १३ लाख हेक्टर क्षेत्रफलमा धान रोपाइँ भइसकेको छ। यस वर्ष कुल १४ लाख हेक्टर खेतीयोग्य जमिनमध्ये बाँकी क्षेत्र पनि भदौको दोस्रो सातासम्म रोपाइँ पूरा हुने अनुमान गरिएको छ।

धान उत्पादनमा तराई क्षेत्रको योगदान करिब ७० प्रतिशत रहने गर्दछ भने बाँकी ३० प्रतिशत उत्पादन पहाडी क्षेत्रबाट हुने मन्त्रालयको तथ्यांक छ। गत आर्थिक वर्षमा ५७ लाख २४ हजार मेट्रिक टन धान उत्पादन भएकोमा यस वर्ष ६० लाख मेट्रिक टन उत्पादन गर्ने लक्ष्य राखिएको छ। त्यसमध्ये करिब ३५ लाख मेट्रिक टन उपभोग्य चामल उत्पादन हुने अनुमान गरिएको छ।

प्रतिक्रिया