"रैंयाँ चाँदीको" गीतका सर्जक नबराज पन्तको मन् किन दुख्यो ?

काठमाडौं - केही समयअघि सार्वजनिक भएको चलचित्र पूर्णबहादुरको सारङ्गी ले नेपाली चलचित्र उद्योगमा ठूलो हलचल ल्यायो। यो चलचित्र अत्यन्त सफल मात्र भएन, नेपाली चलचित्र इतिहासमै सबैभन्दा धेरै आम्दानी गर्ने चलचित्र बन्न सफल भयो।

चलचित्रको सफलतामा सबै पक्षको महत्वपूर्ण योगदान थियो। यस्तै एउटा पक्ष थियो चलचित्रको लोकप्रिय गीत रैयाँ चाँदीको, जुन बाग्लुङका सर्जक नवराज पन्तले सिर्जना गरेका हुन्। यस गीतलाई संगीत संयोजन र स्वर बाग्लुङकै संगीतकार तथा गायक आशिष अविरलले दिएका हुन्। चलचित्रसँगै यो गीतले पनि ठूलो उचाइ प्राप्त गरेको छ, जसलाई अहिले लाखौं दर्शकले मन पराइसकेका छन्। विश्लेषकहरूका अनुसार यो गीतले चलचित्रको सफलतामा ठुलो भूमिका खेलेको छ।

तर, सर्जक नवराज पन्तले हालै सामाजिक सञ्जालमार्फत आफ्नो दुःख पोखेका छन्। उनको गुनासो थियो कि चलचित्रको सक्सेस पार्टीमा उनलाई निमन्त्रणा समेत दिइएन। यद्यपि, उनी भौतिक रूपमा कार्यक्रममा सहभागी हुन सक्ने अवस्थामा थिएनन्, किनकि उनी हाल अमेरिकामा छन्। तर पनि निर्माण युनिटले उनलाई निमन्त्रणा नदिएको विषयले उनलाई गहिरो चोट पुगेको छ।

पन्तले यसअघि पनि आफूले कुनै गीतको पारिश्रमिक नलिएको बताउँदै आएका छन्। तर, यो घटनाले आफूलाई उपेक्षित महसुस गराएको र आगामी दिनमा यो विषयले सोच्न बाध्य बनाउने उल्लेख उनले आफ्नो सामाजिक सञ्जालमा गरेका छन्।

 

प्रतिक्रिया