काठमाडौँ : निरन्तर उकालो लागिरहेको शेयर बजारमा मङ्गलबार भने गिरावट आएको छ। तीव्र उतार-चढावका बीच बजार बन्द हुने बेला नेप्से घटेको हो।
मङ्गलबार नेप्से परिसूचक ८ अङ्कले घटेर समग्र बजार २९२३ विन्दुमा आएको छ। हिजोको तुलनामा कारोबार रकममा पनि ठूलो गिरावट आएको छ। आज २१ अर्ब ५१ करोड रुपैयाँभन्दा माथिको शेयर कारोबार भएको छ, जसमा ७ कम्पनीको शेयर मूल्य सर्किट लेवलमा कारोबार भएको छ। आज ८० कम्पनीहरूको शेयर मूल्य बढेको छ भने बाँकी सबैको घटेको छ।
नेपाल फाइनान्सको शेयर सबैभन्दा धेरै किनबेच भएको छ भने दोस्रो स्थानमा हिमालयन रि इन्स्योरेन्सको शेयर कारोबार भएको छ। यता, नेप्सेका अन्य सूचकहरूमा, सेन्सेटिभ इन्डेक्ससहित, गिरावट आएको छ। उपसूचकतर्फ बैंक, फाइनान्स, साथै इन्स्युरेन्स बाहेकका सबै उपसमूहहरूमा गिरावट देखिएको छ। सबैभन्दा धेरै गिरावट होटल उपसमूहमा देखिएको छ।
लगातार बजार माथि गएपछि सानाठूला लगानीकर्ताहरूले नाफा सुरक्षित गर्न खोज्दा बजारमा करेक्सन आएको केहीको बुझाइ छ। समग्रमा अहिले बजार माथि जाने देखिएको बजार विश्लेषकहरूको भनाइ छ। नयाँ सरकार बनेसँगै बजारले गति कायम गरेको थियो भने २७ अर्ब रुपैयाँसम्मको कारोबार भएको थियो।