एमालेभित्र नेतृत्व विवाद चर्कियो, ओलीको राजीनामाको माग कायम

काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (एमाले) को सचिवालय बैठक शनिबार पनि जारी रहेको छ । अध्यक्ष केपी शर्मा ओली निवास गुण्डुमा शुक्रबार बसेको बैठकको निरन्तरतास्वरूप शनिबार पुनः बैठक बसेको हो ।

बैठकमा उपमहासचिवहरू योगेश भट्टराई, रघुवीर महासेठ र लेखराज भट्ट पछि नौ जना सचिवहरूले धारणा राख्ने कार्यक्रम रहेको छ ।

शुक्रबारको बैठकमा पाँच उपाध्यक्षमध्ये चार जनाले ओलीलाई अध्यक्ष पदबाट हटेर पार्टी पुनर्गठनमा सहयोग गर्न सुझाव दिएका थिए । तर, उक्त सुझाव स्वीकार गर्नुको साटो ओलीले पुनर्गठनको माग उठाउने नेता तथा कार्यकर्तामाथि कारबाहीको संकेत गरेपछि बैठक तनावपूर्ण बनेको थियो ।

बैठकका क्रममा ओली र रामबहादुर थापा पक्षधर समूहसँग विष्णु पौडेल र पृथ्वीसुब्बा गुरुङ बीच तीव्र भनाभन भएको बताइएको छ ।

सचिवालयकै नेताहरूले आफूविरुद्ध राजीनामा मागेपछि ओलीले केन्द्रीय कमिटी बैठकको निर्णयअनुसार अघि बढ्न सकिने संकेत गरेका थिए । अध्यक्ष ओलीलाई केन्द्रीय कमिटीमा आफू बहुमतमा रहेको विश्वास रहेको बताइएको छ ।

यद्यपि शनिबारको बैठकमा पनि केही पदाधिकारीले ओलीको राजीनामा माग्ने तयारी गरेको स्रोतले जनाएको छ । एमालेभित्र पछिल्लो समय ओलीको विकल्पबारे खुलेर बहस सुरु भएको छ ।

पार्टीभित्र शङ्कर पोखरेल र विष्णु पौडेलसमेत ओलीको विकल्पमा उभिएको चर्चा चलिरहेका बेला उपमहासचिव तथा सचिवहरूका धारणा पनि त्यसतर्फ जाने अनुमान गरिएको छ ।

प्रतिक्रिया