अस्पतालबाट छुट पाएपछि दुर्गाप्रसाद घर फर्किए

इलाम । उपचारको रकम तिर्न नसक्दा अस्पतालमै बस्न बाध्य माई नगरपालिका–१० लुम्बाकका ६४ वर्षीय दुर्गाप्रसाद शर्मा तिम्सिना घर फर्किएका छन् । बिना सुनुवाइ भारतीय जेलमा चार दशक बिताएपछि २०७७ सालमा घर फर्काइएका उनलाई गत वर्ष परिवारले चितवनको खैरहनी नगरपालिका–११ स्थित ब्युटिफुल माइन्ड इन्स्टिच्युट अफ साइक्याट्रीमा उपचारका लागि भर्ना गराएका थिए ।

६ महिनाअघि नै उनको स्वास्थ्यमा सुधार आएको चिकित्सकले बताए पनि अस्पतालको बिल तिर्न नसक्दा बन्धकझैँ भएर अस्पतालमै बस्नु परेको थियो । परिवारको कमजोर आर्थिक अवस्था बुझेर चितवनको ब्युटिफुल माइन्ड इन्स्टिच्युट अफ साइक्याट्रिनले उपचारमा भएको खर्च नलिई घर पठाएको छ । दुर्गाप्रसाद एकवर्ष नौ महिना सात दिन सो अस्पतालमा रहेका अस्पतालले जनाएको छ ।

उनी निको भएको ६ महिना भइसके पनि अस्पतालमा तिर्नुपर्ने करिब रु चार लाख १५ हजार नहुँदा घर जान पाइएको थिएन । विभिन्न सञ्चारमाध्यममा उपचार खर्च अभावले अस्पतालमै बस्न बाध्य दुर्गाप्रसाद शीर्षकमा समाचार आएपछि अस्पतालले उनले बुझाउन बाँकी रकम नलिई घर पठाएको अस्पतालका अध्यक्ष डा गिरिराज भन्तानाले बताए । उनले दुर्गाप्रसादको स्वास्थ्यमा सुधार आइसकेको समेत बताए ।

इलामस्थित जिल्ला प्रशासन कार्यालयले दुर्गाप्रसादलाई घर आएपछि नागरिकता प्रदान गरेको थियो । कोशी प्रदेश सरकारले उनको केही उपचार निःशुल्क गरिदिएको थियो । उनको घर रहेको माई नगरपालिकाले आर्थिक अवस्था कमजोर रहेका दुर्गाप्रसादको जीवन सहज बनाउन रु ५० हजार प्रदान गरेको थियो । 

उपचारपछि घर आएका दुर्गाप्रसादमा पुनः सामाजिकीकरणको समस्या दोहोरिएको थियो । लामो समय जेलमा रहेको र यातना पाएका कारण मानसिकरूपमा विक्षिप्त बनेका दुर्गाप्रसादको व्यवहार निकै असहज भएपछि उनलाई उपचारमा लगिएको स्थानीय रोहित आचार्यले बताए । रासस 

प्रतिक्रिया