काठमाण्डौ । बीमा कम्पनीहरू र लघु बीमा कम्पनीहरूको विस्तार भए पनि बीमा कवरेज विस्तारै घट्दै गएको देखिएको छ। नेपाल बीमा प्राधिकरणको चालु आर्थिक वर्षको साउन महिनासम्मको तथ्यांक अनुसार बीमा दायरा ४४ प्रतिशतबाट घटेर ४२.७० प्रतिशतमा झरेको छ। म्यादी, लघु म्यादी, र वैदेशिक रोजगार जीवन बीमालेखलाई समावेश गर्दा यो अवस्था आएको हो।
नेपालको बीमा बजारमा वैदेशिक रोजगार, म्यादी, र लघु म्यादी जीवन बीमा लेखलाई नसमेट्दा बीमा कवरेज कुल जनसंख्याको १७ प्रतिशतमा मात्र सीमित हुने देखिएको छ। म्यादी जीवन बीमालाई समावेश गर्दा कवरेज ३५ प्रतिशतमा पुग्छ, र वैदेशिक रोजगार बीमासहित यो ४२ प्रतिशत जनसंख्यामा विस्तार हुन्छ।
अर्थतन्त्रको संकुचनसँगै पछिल्लो समय म्यादी र लघु म्यादी जीवन बीमा लेखहरूको संख्या ११.९३ प्रतिशतले घटेको छ। साउन महिनामा कुल सक्रिय बीमालेखहरूमा २.२४ प्रतिशतले गिरावट आएको छ, जबकि निर्जीवन बीमा लेखहरूको संख्या १२.८५ प्रतिशतले वृद्धि भएको छ।
प्रथम बीमा शुल्क संकलनमा चालु आवको पहिलो महिनामा २३.५८ प्रतिशतले वृद्धि भएको छ। गत आवमा २ अर्ब २९ करोड ८० लाख रुपैयाँ संकलन भएकोमा चालु आवमा यो २ अर्ब ८३ करोड ९८ लाख रुपैयाँ पुगेको छ। तर, नवीकरणीय जीवन बीमा शुल्कमा ९.०९ प्रतिशतले गिरावट आएको छ, जसका कारण कुल जीवन बीमा शुल्कमा ५.२६ प्रतिशतले गिरावट भएको छ।
अर्थतन्त्रको संकुचनको बाबजुद बीमा कम्पनीहरूको कार्यालय संख्या ६.९० प्रतिशतले र कर्मचारी संख्या ४.८४ प्रतिशतले वृद्धि भएको नेपाल बीमा प्राधिकरणले जनाएको छ।