काठमाडौँ । पूर्वगृहमन्त्री तथा नेपाली कांग्रेसका नेता रमेश लेखकले भदौ २३ र २४ गतेको जेन-जी आन्दोलनका क्रममा बल प्रयोगका लागि आफूले कुनै पनि लिखित वा मौखिक आदेश नदिएको पुनः स्पष्ट गरेका छन्।
जाँचबुझ आयोगमा बयान दिएपछि काठमाडौंमा पत्रकार सम्मेलन गर्दै उनले आन्दोलनको समयमा प्रधानमन्त्री वा मन्त्रीले ‘कति र कसरी बल प्रयोग गर्ने’ भन्ने निर्देशन दिने कुनै संवैधानिक वा कानुनी व्यवस्था नै नभएको बताए।
लेखकले आन्दोलन तीव्र बन्दै गएपछि आफूले राजनीतिमा नैतिकतालाई सर्वोच्च मानेर गृहमन्त्रीबाट राजीनामा दिएको दाबी गरे। उनका अनुसार भदौ २२ गते बसेको केन्द्रीय सुरक्षा समितिको बैठकमा उनले समग्र सुरक्षा अवस्थाबारे सामान्य दिशानिर्देश मात्र दिएका थिए। त्यसलाई ‘बल प्रयोगको आदेश’का रूपमा व्याख्या गर्नु गलत भएको उनले स्पष्ट पारे।
उनका भनाइमा आन्दोलनका क्रममा कहाँ, कति र कसरी बल प्रयोग गर्ने भन्ने निर्णय तत्कालीन स्थानीय प्रशासन र फील्डमा खटिएका सुरक्षाकर्मीले वस्तुगत अवस्थाको मूल्यांकन गरी गर्ने व्यवस्था छ। मन्त्री वा प्रधानमन्त्रीले त्यो स्तरमा आदेश दिने कानुनी आधार नै नभएको उनले उल्लेख गरे।
लेखकले जेन-जी आन्दोलनका मागहरू धेरै जसो जायज भए पनि आन्दोलनमा घुसपैठ हुन पुग्दा ठूलो धनजनको क्षति व्यहोर्नुपरेकोमा दुःख व्यक्त गरे।