२१ अंकले बढ्यो नेप्से, ४ अर्ब २३ करोडको कारोबार

मंगलबार सेयर बजारमा सुधार देखिएको छ। निरन्तर दोस्रो कारोबार दिन बढेको नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचक २१.६२ अंकले उकालो लागेर २६३८.६० विन्दुमा बन्द भएको हो। अघिल्लो दिन पनि सामान्य अंकले बढेको बजारले यस दिन पनि सकारात्मक गति कायम राखेको छ। सेन्सेटिभ इण्डेक्स २.३१ अंक, फ्लोट इण्डेक्स १.४० अंक र सेन्सेटिभ फ्लोट इण्डेक्स ०.९० अंकले बढेका छन्।

परिसूचक बढेपनि कारोबार रकम भने घटेको छ। सोमबार ५ अर्ब १३ करोड रुपैयाँ बराबरको कारोबार भएको बजारमा मंगलबार ३२८ कम्पनीका ४९ हजार ९३ कारोबारबाट ४ अर्ब २३ करोड २४ लाख ७ हजार रुपैयाँ बराबरको ९३ लाख ६४ हजार कित्ता सेयर किनबेच भएको छ। यसले लगानीकर्ताको सहभागिता केही खुम्चिएको संकेत गरेको छ।

यस दिन सालपा विकास बैंकको सेयर सकारात्मक सर्किट लेभलमा कारोबार हुँदै ४३ रुपैयाँ ९० पैसा बढेर ४८३ रुपैयाँ १० पैसामा बन्द भएको छ। रिलायन्स स्पिनिङ मिल्स र हिमालयन पावर पार्टनरको सेयरमूल्य ९ प्रतिशतभन्दा बढीले बढ्दा सागर डिष्टिलरीको मूल्य पनि करिब ९ प्रतिशतले उकालो लागेको छ। कारोबार रकमका आधारमा एसवाई प्यानल नेपाल शीर्ष स्थानमा रहँदा आँखु खोला जलविद्युत र राधी विद्युत कम्पनीको पनि उच्च कारोबार भएको छ। सबै १३ उपसमूहको परिसूचक बढेकोमा होटल तथा पर्यटन उपसमूह सर्वाधिक २ प्रतिशतभन्दा बढीले उकालो लागेको छ।

प्रतिक्रिया