पश्चिमी वायुको प्रभाव: कोशीदेखि गण्डकीसम्म वर्षा र हिमपातको सम्भावना

काठमाडौं । देशभर हाल पश्चिमी वायु र स्थानीय वायुको प्रभाव देखिएको छ। जल तथा मौसम विज्ञान विभाग अन्तर्गतको मौसम पूर्वानुमान महाशाखाका अनुसार यसको असरले पहाडी तथा हिमाली भूभागमा सामान्य बदली भएको छ भने अधिकांश तराई क्षेत्रमा मौसम मुख्यतया सफा रहेको छ।

महाशाखाका अनुसार आज दिउँसो कोशी प्रदेश, मधेश प्रदेश, बागमती प्रदेश र गण्डकी प्रदेश सहित लुम्बिनी प्रदेश र कर्णाली प्रदेश का हिमाली तथा पहाडी क्षेत्रमा सामान्य बदली रहनेछ। अन्य स्थानमा आंशिक बदलीदेखि मौसम सफा रहने अनुमान गरिएको छ।

कोशी, बागमती र गण्डकी प्रदेशका केही स्थानमा मध्यम वर्षा हुन सक्ने सम्भावना रहेको छ। साथै, हिमाली तथा पहाडी क्षेत्रमा हल्का हिमपातको सम्भावना पनि रहेको मौसमविद्हरूले बताएका छन्।

त्यसैगरी, सुदूरपश्चिम प्रदेश र लुम्बिनी प्रदेशका तराई क्षेत्रमा तातो दिनको सम्भावना रहेको जनाइएको छ।

आज राति पनि कोशी, मधेश, बागमती र गण्डकी प्रदेशमा बदली कायम रहनेछ। केही स्थानमा मेघगर्जन र चट्याङसहित हल्का वर्षा तथा हिमपात हुन सक्ने महाशाखाले जनाएको छ।

प्रतिक्रिया