काठमाडौं । नेपालको पहिलो आधुनिक सडक सुरुङमार्गका रूपमा निर्माण गरिएको नागढुंगा–सिस्नेखोला सुरुङमार्गको सोमबार औपचारिक उद्घाटन गरिएको छ। पूर्वाधार विकासमन्त्री सुनिल लम्साल, नेपालका लागि जापानी राजदूत मायदा तोरु तथा जापान अन्तर्राष्ट्रिय सहयोग नियोग (जाइका)का अध्यक्षसहित उच्च अधिकारीहरूको उपस्थितिमा सुरुङमार्ग उद्घाटन गरिएको हो।
सुरुङमार्गमा राखिएको नयाँ शिलालेखमा ‘माननीय पूर्वाधार विकासमन्त्री श्री सुनिल लम्सालज्यूद्वारा नेपालको पहिलो आधुनिक सडक सुरुङमार्गको समुद्घाटन सम्पन्न भयो’ भन्ने उल्लेख गरिएको छ। यसै विषयलाई लिएर सुरुङमार्गको शिलान्यास गरेका तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीको नाम हटाइएको भन्दै विवाद उत्पन्न भएको छ।
उद्घाटनपछि सञ्चारकर्मीसँग कुरा गर्दै मन्त्री लम्सालले हराएको शिलान्यास शिलालेख खोजेर पुनर्स्थापना गरिने बताएका छन्। उनले सञ्चारमाध्यममा आएजस्तो जानाजानी नाम हटाइएको नभई निर्माणका क्रममा शिलालेख रहेको स्थानमा संरचना निर्माण गर्नुपरेकाले त्यसलाई सुरक्षित रूपमा सडक विभागमा राखिएको बताए। पछि जनआन्दोलनका क्रममा सम्बन्धित भवनमा आगलागी हुँदा उक्त शिलालेख हराएको जानकारी आफूले पाएको उल्लेख गर्दै विगतको सम्मानस्वरूप त्यसलाई पुनःस्थापना गरिने बताए।
मन्त्री लम्सालले नागढुंगा–सिस्नेखोला सुरुङमार्गले नेपालमा आधुनिक सुरुङमार्ग निर्माणको नयाँ युगको सुरुआत गरेको उल्लेख गर्दै आगामी दिनमा देशका विभिन्न स्थानमा यस्ता पूर्वाधार निर्माणलाई निरन्तरता दिइने विश्वास व्यक्त गरे।
सुरुङमार्ग निर्माणमा जापान सरकारको करिब २१ अर्ब रुपैयाँ बराबरको सहुलियतपूर्ण ऋण तथा नेपाल सरकारको करिब ६ अर्ब रुपैयाँ लगानी रहेको छ। यो सुरुङमार्गलाई मुलुकको पहिलो व्यवस्थित सडक यातायात सुरुङमार्गका रूपमा लिइएको छ।