सरकार फेरिने हल्लाका बीच शेयर बजारमा सुधार

काठमाण्डौ । सरकार परिर्वतन हुने हल्लासँगै शेयर बजारमा हरियाली छाएको छ । निरन्तर ओरालो लागेको शेयर बजार सोमबार भने दोहोरो अंकले बढेको हो । नेप्से बढे पनि कारोबार रकम भने स्थिर छ । 

सोमबार सेयर बजार परिसूचक नेप्से १६.२९ अंकले वृद्धि भएको छ। अघिल्लो दिन १४.८३ अंकले घटेर २ हजार ३७.०९ विन्दुमा ओर्लिएको नेप्से सूचक सोमबार ०.८० प्रतिशतले बढ्दै २ हजार ५३.३८ विन्दुमा पुगेको हो।

तर सोमबार कारोबार भने घटेको छ। नेपाल स्टक एक्सचेञ्जका अनुसार सोमबार २ अर्ब ९९ करोड ९९ लाख रुपैयाँ बराबरको ७१ लाख ६५ हजार कित्ता सेयर दोस्रो बजारमा कारोबार भएको छ। जबकि १४ अंकमाथिले सूचक घटेको अघिल्लो दिन ३ अर्ब ६० करोड ७१ लाख रुपैयाँमाथिको कारोबार भएको थियो।

सोमबार फाइनान्स र म्यानु एण्ड प्रो समूहको उपसूचक बाहेक ११ वटा उपसूचक धनात्मक भएका छन्। सबैभन्दा बढी बैंकिङ समूहको उपसूचक २.०४ प्रतिशतले बढेको छ भने विकास बैंक समूहको उपसूचक १.३१ प्रतिशतले बढेको छ। अन्य समूहको उपसूचक भने १ प्रतिशत कमले बढेका छन्।

सोमबार १७६ कम्पनीको सेयर मूल्य बढेको छ भने ६० कम्पनीको मूल्य घटेको छ। ११ कम्पनीको मूल्य भने स्थिर रहेको छ।

प्रतिक्रिया