काठमाडौं – काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र (बालेन) शाहले प्रधानमन्त्री केपी शर्मा ओलीको कार्यशैलीमाथि फेरि प्रश्न उठाएका छन्। तीन वर्षअगाडि सर्वोच्च अदालतले गरेको फैसलालाई लिएर अहिलेको सरकारी सक्रियतामा प्रश्न उठाउँदै शाहले ओलीको नेतृत्वप्रति असन्तोष जनाएका हुन्।
बालेनले सामाजिक सञ्जालमा पोस्ट गर्दै "उहिलै मरिन् सासू, अहिले आए आँसु" भन्ने नेपाली उखान उल्लेख गर्दै ओलीको सरकारको कार्यशैलीलाई अवसरवादी र अव्यवस्थित भनेका छन्। उनका अनुसार, २०७६ साउन २० गते न्यायाधीशद्वय डा. आनन्दमोहन भट्टराई र सपना प्रधान मल्लको इजलासले नदीतटको मापदण्ड थप २० मिटर कायम गर्न आदेश दिएको थियो। उक्त समयमा खड्गप्रसाद ओली नै प्रधानमन्त्री थिए, तर त्यस आदेशको पुनरावलोकनको कुनै पहल नगरेको आरोप शाहले लगाएका छन्।
शाहले भनेका छन् कि अदालतले दुवै पक्षको तर्क सुनेपछि मात्र फैसला गरेको हो, तर प्रधानमन्त्री ओली, बागमतीका मुख्यमन्त्री डोरमणि पौडेल र काठमाडौंका मेयर विद्यासुन्दर शाक्यले पुनरावेदन नगरेकोले उनीहरूको सहमति रहेको ठहरिएको छ। उनले अहिलेको सरकारलाई तटीय क्षेत्रको मापदण्ड पालना नगरे धोका पाउने चेतावनी पनि दिएका छन्।