नेप्से परिसूचक ३३ अंकले घट्यो, वित्त समूहमा उच्च गिरावट

काठमाडौं – नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचकमा सोमबार ३३.०८ अंकको गिरावट आएको छ। नेप्से १.२६ प्रतिशतले घटेर २,५७६.५० बिन्दुमा झरेको छ।

तीन सय आठ कम्पनीका १ करोड ३१ लाख ७४ हजार ३७९ कित्ता शेयर ६९ हजार ९२३ पटक किनबेच हुँदा कुल कारोबार रकम ५ अर्ब ६७ करोड ४६ लाख रुपैयाँ पुगेको छ।

आज वित्त समूहको सूचकमा सबैभन्दा उच्च गिरावट देखियो। यो समूह ५.१९ प्रतिशतले घटेको छ। त्यस्तै, विकास बैंक समूह २.७७ प्रतिशतले र व्यापार समूह ०.९७ प्रतिशतले घटेका छन्। बैंकिङ समूह ०.९२ प्रतिशतले घट्दा होटल तथा पर्यटन १.३८ प्रतिशत, हाइड्रोपावर १.७३ प्रतिशत, उत्पादन तथा प्रशोधन १.५१ प्रतिशत, लघुवित्त १.४१ प्रतिशत, जीवन बीमा ०.६५ प्रतिशत, निर्जीवन बीमा ०.९५ प्रतिशत, र म्युचुअल फन्ड समूह ०.३८ प्रतिशतले घटेका छन्। अन्य समूहको सूचक भने ०.०६ प्रतिशतले वृद्धि भएको छ।

सपोर्ट माइक्रोफाइनान्स, जानकी फाइनान्स, र पोखरा फाइनान्सका शेयरमा आज नकारात्मक सर्किट लागेको छ। उता, सबैभन्दा धेरै वृद्धि नाडेप लघुवित्तको शेयर मूल्यमा देखियो, जसले ४.०१ प्रतिशतले उचाइ लियो।

कारोबार रकमका आधारमा सबैभन्दा धेरै प्रभु बैंकको शेयर किनबेच भएको छ। प्रभु बैंकका १५ लाख ८ हजार ५५७ कित्ता शेयरको ३५ करोड ९४ लाख रुपैयाँ बराबरको कारोबार भयो।

प्रतिक्रिया