काठमाडौँ — सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले नेपालमा दर्ता (सूचीकरण) नभएका सामाजिक सञ्जालहरूलाई आजैदेखि बन्द गर्ने निर्णय गरेको छ।
मन्त्रालयमा आज सञ्चार तथा सूचना प्रविधि मन्त्री पृथ्वीसुब्बा गुरुङको अध्यक्षतामा बसेको बैठकले सो निर्णय गरेको हो। बैठकपछि मन्त्रालयले तत्कालै कार्यान्वयनमा जानेगरी सूचीकरण नभएका सामाजिक सञ्जालहरू बन्द गर्ने स्पष्ट पारेको छ।
सरकारले सामाजिक सञ्जालको प्रयोगलाई व्यवस्थित गर्न ‘सामाजिक सञ्जाल सञ्चालन निर्देशिका, २०८०’ लागू गरेको छ। उक्त निर्देशिकाले नेपालमा सञ्चालन हुन चाहने सामाजिक सञ्जालहरूले अनिवार्य रूपमा सरकारसँग सूचीकरण गर्नुपर्ने व्यवस्था गरेको छ।
यसअघि पटक–पटक समय दिँदै सरकारले सामाजिक सञ्जाल कम्पनीहरूलाई सूचीकरणका लागि आग्रह गर्दै आएको थियो। तर, अझैसम्म धेरै जसो ठूला सामाजिक सञ्जालहरूले यो प्रक्रिया पूरा नगरेको मन्त्रालयको भनाइ छ।