मेलम्ची पाइप फुट्नुमा विद्युत् प्राधिकरणको लापरबाही

काठमाडौंको थापाथली क्षेत्रमा मेलम्ची खानेपानी वितरण पाइप फुट्नुमा नेपाल विद्युत् प्राधिकरणको लापरबाही रहेको काठमाडौं उपत्यका खानेपानी लिमिटेड (केयूकेएल) ले जनाएको छ। मंगलबार बिहान थापाथली चोकबाट प्रसूति गृहतर्फ जाने सडकमुनि बिछ्याइएको पाइपलाइन क्षतिग्रस्त हुँदा करिब पाँच लाख लिटर पानी खेर गएको थियो।

प्रारम्भिक अध्ययन अनुसार, विद्युत् लाइन भूमिगत गर्ने क्रममा आवश्यक सावधानी नअपनाउँदा मेलम्चीको पाइपमा क्षति पुगेको पाइएको छ। आयोजना उप-निदेशक एवं प्रवक्ता इन्जिनियर चन्द कुमार श्रेष्ठका अनुसार नेपाल विद्युत् प्राधिकरणले मेलम्ची पाइपलाइनभन्दा कम्तीमा एक मिटर टाढा रहनुपर्ने पूर्वसमझदारी तोडेर सिधै मेलम्ची पाइपमाथि तार बिछ्याएपछि क्षति भएको हो।

उनले पाइपमा पहिल्यै चोट लागेको हुनसक्ने र पानीको चाप बढ्दा त्यसले फुटाएको हुनसक्ने प्रारम्भिक अध्ययनले देखाएको बताए। आज बिहान ५:२० बजे पाइप फुट्नासाथ आयोजनाका प्राविधिक टोली परिचालन गरी पानीको प्रवाह रोकिएको थियो। साथै, काठमाडौं महानगरपालिकाले सडकमा जमेको पानीको निकासको व्यवस्था मिलाउँदै सफाइ कार्यसमेत गरेको छ।

यसअघि, माघ ३० गते बबरमहलमा यस्तै दुर्घटनाका कारण १० लाख लिटर पानी खेर गएको थियो। केयूकेएलले यस पटक समस्या छिटो समाधान गरिएको बताएको छ।

 

प्रतिक्रिया