काठमाडौं । अमेरिकी सैन्य कारबाहीका क्रममा इरानका सर्वोच्च नेता आयतोल्लाह अली खामेनेई मारिएको दाबी गरिएको छ। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प ले उक्त जानकारी सार्वजनिक गर्दै खामेनेईको मृत्यु सम्बन्धी खबर विश्वसनीय रहेको बताएका छन्। उनले अमेरिकी टेलिभिजन नेटवर्क NBC News सँगको कुराकानीमा आफूहरूले प्राप्त गरेको सूचना सही भएको विश्वास व्यक्त गरेका हुन्। ट्रम्पका अनुसार अमेरिका र इजरायल ले संयुक्त रूपमा सञ्चालन गरेको आक्रमणमा इरानका धेरै उच्च तहका अधिकारीहरू मारिएका छन् र निर्णय क्षमता राख्ने अधिकांश व्यक्ति अब जीवित नरहेको दाबी गरेका छन्।
ट्रम्पले इरानविरुद्धको कदम आणविक कार्यक्रमसम्बन्धी वार्ता निरन्तर असफल भएपछि उठाइएको बताएका छन्। उनका अनुसार इरान पटक–पटक सम्झौताका नजिक पुगेर पछि हट्ने प्रवृत्तिमा देखिएको र त्यसबाट वास्तविक सहमतिको इच्छाशक्ति नरहेको निष्कर्ष निकालिएको थियो। उनले सैन्य अभियानपछि क्षेत्रीय तनाव व्यवस्थापन गर्न विभिन्न विकल्प खुला रहेको पनि उल्लेख गरेका छन्। यसबीच BBC ले खामेनेईको मृत्युको खबर बाहिरिएपछि तेहरानका केही स्थानमा मानिसहरूले उत्सव मनाएको जनाएको छ। यसअघि इजरायली प्रधानमन्त्री बेन्जामिन नेतान्याहु ले पनि इरानका सर्वोच्च नेता अब जीवित नरहेको संकेत दिएका थिए।
सन् १९८९ देखि इरान को सर्वोच्च नेताको जिम्मेवारी सम्हाल्दै आएका खामेनेई देशका सबैभन्दा शक्तिशाली पदाधिकारी मानिन्थे। उनी राष्ट्रको सर्वोच्च कमान्डरका साथै सुरक्षा संयन्त्र, प्रहरी र इस्लामिक रिभोलुसनरी गार्डजस्ता निकायमाथि प्रत्यक्ष प्रभाव राख्थे। उनको मृत्युको दाबीले मध्यपूर्व क्षेत्रमा थप अस्थिरता र शक्ति सन्तुलनमा परिवर्तन आउने सम्भावना बढेको विश्लेषण गरिएको छ।