काठमाडौं – राजसंस्था पुनःस्थापनाका लागि संयुक्त जनआन्दोलन समितिका प्रवक्ता अधिवक्ता स्वागत नेपाल (भद्रप्रसाद) रिहा भएका छन्। काठमाडौं जिल्ला प्रहरी परिसरका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक विश्व अधिकारीका अनुसार उनलाई आइतबार हिरासत मुक्त गरिएको हो।
अधिकारीका अनुसार नेपाल शुक्रबारको प्रदर्शनस्थलमा नरहेको र सोही दिन परीक्षा दिन गएकाे प्रारम्भिक अनुसन्धानबाट खुलेपछि उनलाई रिहा गरिएको हो। ‘थप अनुसन्धानबाट उहाँको संलग्नता भेटिए फेरि पक्राउ गरेर कानूनी दायरामा ल्याउनेछौं,’ उनले भने।
नेपाललाई शुक्रबार पक्राउ गरिएको थियो। तर, उनले आफू प्रदर्शनस्थल नगएको र परीक्षा दिन गएको दाबी गरेका थिए। प्रहरीले उनको दाबी पुष्टि गर्न मोबाइल लोकेशनसमेत जाँच गरेको थियो।