लगानी गर्ने हैन त - करिब १३ अर्बको आइपीओ प्रक्रियामा

काठमाडौं - केही समय सुस्ताएको शेयर बजारमा फेरि रौनक छाएको छ । नयाँ सरकार र अर्थमन्त्रीमा विष्णु पौडेल आएसँगै लगानीकर्ता उत्साहित भएका छन् । 

धितोपत्र बोर्डमा आइपीओ को लागि आवेदन दिने कम्पनीको संख्या ३० पुगेको छ । ति कम्पनीहरुले १२ अर्ब ४५ करोड २७ लाख रुपैयाँ बराबरको ८ करोड ६५ लाख ९७ हजार ३३२ कित्ता सेयर सार्वजनिक निष्कासन गर्न अनुमति मागेका छन् । जसमध्ये १५ वटा हाइड्रोपावर, २ वटा इन्सुरेन्स, ४ वटा उत्पादन तथा प्रशोधन, २ वटा लघुवित्त संस्था, ५ अन्य र १–१ वटा होटल तथा प्रर्यटन र लगानी क्षेत्रका कम्पनीहरुले अनुमति पर्खेर बसेका हुन् । 

पछिल्लो समय प्रिमियममा आइपीओ जारी गर्न अनुमति माग्ने कम्पनीहरुको संख्या पनि बढेको छ । साथै, केही कम्पनीहरुले बुक विल्डिङ विधिमार्फत आइपीओ निष्कासन गर्न अनुमति मागेका छन् । सर्वोत्तम सिमेन्ट र रिलायन्स स्पिनिङ मिल्सको बुक विल्डिङ विधिबाट आइपीओ जारी गर्ने प्रक्रिया पाइपलाइनमा रहेको छ । यिनीहरुले निष्कासन गर्न लागेको सेयरको ४०% हिस्सा पहिलो चरणमा योग्य संस्थागत लगानीकर्तालाई छुट्याउनु पर्ने प्रावधान छ । सोही अनुसार यि दुवै कम्पनीले आवेदन दिएका हुन् ।

यता, रिलायवल नेपाल लाइफ इन्सुरेन्सले १०० रुपैयाँ फेस भ्यालुमा ११२ रुपैयाँ प्रिमियम थपेर प्रतिकित्ता २१२ रुपैयाँमा आइपीओ जारी गर्न अनुमति मागेको छ । त्यस्तै, भगवती हाइड्रोपावरले फेस भ्यालुमा १६ रुपैयाँ र मन्डु हाइड्रोपावरले १४८ रुपैयाँ प्रिमियम थपेर सेयर बिक्री गर्न अनुमति मागेको छन् । यता, घोराही सिमेन्टले प्रिमियम सहित स्थानीयहरुलाई ४०० र आम सर्वसाधारणलाई ४३५ रुपैयाँमा आइपीओ बिक्री गर्न अनुमति मागेको छ । यता, हाथवे इन्भेष्टमेन्ट नेपाल मिलिटेडले भने ५० रुपैयाँमा आइपीओ जारी गर्ने भएको हो । अन्य कम्पनीहरुले १०० रुपैयाँमै आइपीओ जारी गर्न लागेका हुन् । 

 

सबैभन्दा धेरै घोराही सिमेन्टले ३ अर्ब ४४ करोड १६ लाख रुपैयाँ बराबरको सेयर निष्कासन गर्न अनुमति मागेको हो । त्यसपछि, रिलायबल नेपाल लाइफले २ अर्ब ५४ करोड ४० लाख रुपैयाँ र सोनापुर मिनिरल्स एन्ड आयलले १ अर्ब २३ करोड २० हजार रुपैयाँ बराबरको सेयर बिक्री गर्नेछ । सबैभन्दा कम बीपीडब्लु लघुवित्तले जम्मा ९७ लाख रुपैयाँ बराबरको सेयर निष्कासन गर्न अनुमति पर्खिरहेको छ ।  

प्रतिक्रिया