उच्च अदालतको आदेशपछि दुर्गा प्रसाईं धरौटीमा रिहा

काठमाडौं –उच्च अदालत पाटनको आदेशपछि मेडिकल व्यवसायी दुर्गा प्रसाईं डिल्लीबजार कारागारबाट रिहा भएका छन्। सोमबार राति आवश्यक प्रक्रियागत काम पूरा गरी कारागार प्रशासनले उनलाई रिहा गरेको हो।

न्यायाधीशद्वय टंकप्रसाद गुरुङ र डिल्लीरत्न श्रेष्ठको संयुक्त इजलासले जिल्ला अदालत काठमाडौंको थुनामा पठाउने आदेश उल्ट्याउँदै प्रसाईंलाई तीन लाख रुपैयाँ धरौटीमा रिहा गर्न आदेश दिएको हो।

२०७८ चैत १५ गते काठमाडौंको तीनकुनेमा राजावादी प्रदर्शनका क्रममा पत्रकार सुरेश रजक र यातायात मजदुर सविन महर्जनको ज्यान गएको घटनामा प्रसाईंलाई मुख्य भूमिका खेलेको अभियोगमा पक्राउ गरिएको थियो। सोही घटनामा जिल्ला प्रहरी परिसर काठमाडौंले पाँचवटा मुद्दा दायर गरी जिल्ला सरकारी वकिलको कार्यालयमार्फत अभियोजन गरेको थियो।

प्रसाईंलाई २०७८ चैत २६ गते भारतको असमबाट पक्राउ गरी नेपाल ल्याइएको थियो। त्यसपछि जिल्ला अदालत काठमाडौंका न्यायाधीश ध्रुवराज कार्कीले जेठ ३० गते उनलाई थुनामा पठाउने आदेश दिएका थिए। आदेशपछि उनी डिल्लीबजार कारागारमा थुनामा थिए।

सरकारी वकिलको कार्यालयले सो घटनामा संलग्न देखिएका ५० जनाविरुद्ध राज्यविरुद्धको कसुरसमेतमा अभियोग दर्ता गरेको थियो। तीमध्ये ३९ जना प्रहरी हिरासतमा थिए।

प्रसाईंविरुद्ध राज्यविरुद्धको कसुर, आपराधिक उपद्रव, कर्तव्य ज्यान, ज्यान मार्ने उद्योग, सङ्गठित अपराध र एकीकृत कसुरमा सजायको मागदाबी गरिएको थियो।

प्रतिक्रिया

ताजा समाचार

लोकप्रिय