प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि आजदेखि औपचारिक रूपमा प्रचार–प्रसार सुरु भएको छ। निर्वाचन आयोगको व्यवस्थाअनुसार मतदान हुनुभन्दा १५ दिनअघि मात्र जुलुस, आमसभा, कोणसभा तथा सञ्चारमाध्यममार्फत प्रचार–प्रसार गर्न पाइने प्रावधान छ। सोहीअनुसार आजदेखि फागुन १८ गते राति १२ बजेसम्म राजनीतिक दल र उम्मेदवारहरूले प्रचार अभियान सञ्चालन गर्न सक्नेछन्।
आयोगले निर्वाचनको निष्पक्षता र मर्यादा कायम राख्न आचारसंहिताको पूर्ण पालना गर्न सबै दल, उम्मेदवार र सरोकारवालालाई आग्रह गरेको छ। आचारसंहिता उल्लङ्घन भएमा स्पष्टीकरण सोध्ने, सचेत गराउने, जरिवाना गर्ने वा आवश्यक परे उम्मेदवारी खारेजसम्म गर्न सकिने कानुनी व्यवस्था रहेको आयोगले जनाएको छ। कार्यवाहक प्रमुख निर्वाचन आयुक्त रामप्रसाद भण्डारीले उल्लङ्घनप्रति शून्य सहनशीलता नीति अपनाइने स्पष्ट पारेका छन्।
राजनीतिक दल र उम्मेदवारले तोकिएको मापदण्डभित्र रही पत्रपत्रिका तथा अनलाइन सञ्चारमाध्यममा विज्ञापन गर्न सक्नेछन्। आमसभा वा कोणसभा गर्दा मञ्च निर्माणलगायतको खर्च विवरण सम्बन्धित उम्मेदवारले स्वयं वा प्रतिनिधिमार्फत निर्वाचन कार्यालयमा बुझाउनुपर्नेछ। साथै, सामाजिक सञ्जाल वा अनलाइन माध्यमबाट मिथ्या सूचना, दुष्प्रचार तथा द्वेषपूर्ण अभिव्यक्ति फैलाउन नपाइने आयोगले चेतावनी दिएको छ।