सरकार र नेपाल राष्ट्र बैंकले सेयर बजारमा सक्रियता ल्याउने उद्देश्यले ल्याएको लचिलो नीति अपेक्षाअनुसार प्रभावकारी हुन सकेको छैन। राष्ट्र बैंकले जेठ ११ गते सार्वजनिक गरेको मौद्रिक नीतिको तेस्रो त्रैमासिक समीक्षामार्फत सेयर धितो कर्जाको जोखिमभार १२५ प्रतिशतबाट घटाएर १०० प्रतिशतमा झारेको थियो। यस निर्णयले सेयर धितोमा कर्जा प्रवाह सहज बनाउने आशा गरिएको थियो। तर, समीक्षा सार्वजनिक भएको १२ दिनमै नेप्से परिसूचक ४७.५९ अंकले घटेको देखिएको छ।
हाल बैंक तथा वित्तीय संस्थाहरूमा पर्याप्त लगानीयोग्य पूँजी रहेको भए पनि बजार सुस्त अवस्थामा छ। कर्जा निक्षेप अनुपात (सीडी रेसियो) ७८.७८ प्रतिशतमा झरेको छ भने मुद्दती निक्षेपमा दिइने औसत ब्याजदर ५.९५ प्रतिशत पुगेको छ। तर, अन्य लगानी क्षेत्रहरूमा गतिविधि कमजोर हुँदा सेयर बजारमा पनि सुधारको गति देखिएको छैन।
त्यस्तै, आगामी आर्थिक वर्षको बजेटले पुँजी बजारबाट प्राप्त लाभमा लाग्ने आयकर यथावत् राखेको छ। १५ जेठमा बजेट सार्वजनिक गर्दै सरकारले लाभकरमा कुनै परिवर्तन नगरेको थियो। यद्यपि सरकार र राष्ट्र बैंक दुवैतर्फबाट नीति सहज बनाइए पनि लगानीकर्तामा आशा र सक्रियता देखिएको छैन।
बजारको सुस्त अवस्थालाई विश्लेषकहरूले संस्थागत लगानीकर्ताको निष्क्रियता, कमजोर बजार विश्लेषण प्रणाली, राजनीतिक अन्योल र अर्थतन्त्रमा पुनरुत्थानको स्पष्ट संकेत नदेखिनु जस्ता कारणहरूसँग जोडिरहेका छन्। पछिल्ला तीन दिनको अवधिमा नेप्से परिसूचक ५३.७ अंकले घटेको छ। सोमबार २६९४.६६ विन्दुमा रहेको नेप्से बिहीबारसम्म २६४०.९६ विन्दुमा झरेको छ।
बिहीबारको कारोबारमा अधिकांश समूहको परिसूचक घटे पनि जलविद्युत् र लगानी समूहको परिसूचक भने बढेको देखिएको छ। जलविद्युत् समूहको परिसूचक १.१३ प्रतिशतले वृद्धि भएको छ। पाँच कम्पनीको सेयर मूल्यमा उच्च वृद्धि देखिँदा सर्किट ब्रेकरसमेत लागेको थियो। तीमध्ये चार कम्पनी—रिभर फल्स पावर, बुटवल पावर कम्पनी, पियोर इनर्जी र वरुण हाइड्रोपावर—जलविद्युत् समूहका हुन्। त्यस्तै, सप्तकोशी विकास बैंकको सेयर मूल्य ९.५ प्रतिशतले बढेको छ। बिहीबारको कुल सेयर कारोबार ७ अर्ब ८१ करोड २५ लाख रुपैयाँ पुगेको छ। Nayapatrika daily