साताको अन्तिम दिन पनि घट्यो नेप्से र कारोबार रकम

काठमाडाैं - साताको अन्तिम कारोबार दिन पनि नेप्से परिसूचक घट्दै बन्द भएको छ। अघिल्लो कारोबार दिन अर्थात बुधबार घटेको बजारले बिहीबार पनि सोही क्रमलाई निरन्तरता दिएको हो।

बिहीबार नेप्से परिसूचक ९.२२ अंकले घटेर २७५७.९७ विन्दुमा झरेको छ। सोही दिन सेन्सेटिभ इण्डेक्स ०.६९ अंक, फ्लोट इण्डेक्स ०.५० अंक र सेन्सेटिभ फ्लोट इण्डेक्स ०.२१ अंकले घटेका छन्।

कारोबार रकम पनि घट्ने क्रममा देखिएको छ। बुधबार ५ अर्ब २० करोडको कारोबार भएको बजारमा बिहीबार ३१९ कम्पनीका ५६ हजार ८२४ पटकको कारोबारमार्फत ५ अर्ब २ करोड रुपैयाँभन्दा अलि बढीको १ करोड ६८ लाख ५५ हजार कित्ता सेयर खरिदबिक्री भएको छ।

यस दिन विकास हाइड्रोपावरको सेयर मूल्य पुनः सकारात्मक सर्किट लेभलमा पुगेको छ। कम्पनीको सेयर ३२ रुपैयाँ १० पैसा बढ्दै ३५३ रुपैयाँ ४० पैसामा बन्द भएको हो। त्यस्तै सामुदायिक लघुवित्तको मूल्य झण्डै साढे ५ प्रतिशतले बढेको छ। अन्य बढेका स्टकहरुमा वृद्धिदर साढे ३ प्रतिशतभन्दा कम मात्र रहेको छ। यस दिन जनउत्थान सामुदायिक लघुवित्तको सेयर भने ४.६५ प्रतिशतले घट्दै सबैभन्दा धेरै गिरावट आएको छ।

कारोबार रकमका हिसाबले हिमालयन रि इन्स्योरेन्स शीर्ष स्थानमा रह्यो। कम्पनीको सेयर कारोबार २४ करोड ९ लाख रुपैयाँ पुगेको छ। नेपाल पुनर्बीमा कम्पनीमा २० करोड रुपैयाँको सेयर किनबेच भएको छ भने बलेफि हाइड्रोपावरमा १४ करोड रुपैयाँभन्दा बढीको कारोबार भएको छ।

१३ उपसमूहमध्ये बिहीबार १ उपसमूह मात्र बढ्दा १२ उपसमूह घटेका छन्। निर्जीवन बीमा उपसमूह ०.१४ प्रतिशतले बढेको हो भने बाँकी उपसमूहहरुको गिरावट १ प्रतिशतभन्दा कम रहेको छ।

प्रतिक्रिया