काठमाडौं—साताको पहिलो कारोबार दिन नेपाल स्टक एक्सचेन्ज (नेप्से) ले ४०.७६ अंकले वृद्धि गरी १.४७% ले बढेर २७९६.३८ अंकमा पुगेको छ। नेप्से २८ सयको नजिक पुगेपछि कारोबारमा पनि उत्साह देखा परेको छ।
आइतबार सार्वजनिक बिदा भएकाले नेप्से बन्द रहेको थियो। सोमबार कारोबार खुल्दा कुल २१ अर्ब ८६ करोड ४९ लाख ९२ हजार रुपैयाँ बराबरको ४ करोड ९७ लाख ७३ हजार ७३० कित्ता शेयर २ लाख ३८ हजार ७८ पटक किनबेच गरिएको छ।
विभिन्न कम्पनीहरूले गत आर्थिक वर्षको वित्तीय विवरण सार्वजनिक गरेसँगै बजारमा रौनक आएको देखियो। बलियो वित्तीय अवस्थाका कम्पनीमा लगानीकर्ताको आकर्षण बढी थियो भने कम्जोर वा नाफा घटेका कम्पनीमा लगानी कम भएको थियो।
सोमबार, १ बजेर ४७ मिनेटमा नेप्सेले २८ सय अंकको सीमा पार गरेको थियो तर २ बजेपछि नेप्से २८ सयको तल झरेको थियो। कारोबारको अन्त्यमा नेप्से २७९६ अंकमा बन्द भएको छ। सोमबार नेप्सेले एकै दिनमा ५५ अंकको करेक्सन देखाएको छ।
१३ वटा समूहमध्ये ७ समूहको शेयर मूल्य बढेको छ भने ६ समूहको मूल्य घटेको छ। प्रतिशतका आधारमा सोमबार सबैभन्दा बढी वृद्धि होटल एण्ड टुरिजम समूहमा भएको छ, जसको मूल्य ६.६९% ले वृद्धि भएर ७७८०.६६ अंकमा पुगेको छ। सबैभन्दा कम वृद्धि निर्जीवन बीमा समूहमा भएको छ, जसको मूल्य १.२५% ले वृद्धि भएर १३,६७१.६४ अंकमा पुगेको छ।
सर्वाधिक घट्नेमा फाइनान्स समूह रहेको छ, जसको मूल्य ४.६१% ले घटेर ३४०४.१३ अंकमा पुगेको छ। प्रतिशतका आधारमा सबैभन्दा कम घट्ने समूह म्युचल फण्ड रहेको छ, जसको मूल्य ०.१८% ले घटेर २१.८२ अंकमा पुगेको छ।
३२६ वटा स्टक कारोबार हुँदा १६३ वटा कम्पनीको शेयर मूल्य बढेको छ भने ७८ वटा स्टकको मूल्य घटेको छ। १ वटा स्टकको मूल्य स्थिर रहेको छ। सोमबार १३ वटा स्टकले १०% ले वृद्धि भएर सकारात्मक सर्किट लागेको छ भने थप ४ वटा स्टकको मूल्य ८% भन्दा बढीले बढेको छ। नेपाल फाइनान्सको शेयर मूल्य १०% ले घटेर नकारात्मक सर्किट लागेको छ।