एसवाई प्यानलकाे आईपीओ खुल्याे

काठमाडौँ । एसवाई प्यानल नेपाल लिमिटेडले आज (असोज ७ गते) देखि आईपीओ निष्काशन सुरु गरेको छ। कम्पनीले उद्योग प्रभावित क्षेत्रका स्थानीय बासिन्दा र वैदेशिक रोजगारीमा रहेका नेपालीहरूलाई लक्षित गर्दै शेयर सार्वजनिक गरेको हो।

यसअघि भदौ २९ गतेदेखि निष्काशनको तयारीमा रहेको कम्पनीले विभिन्न कारणले ढिलो गरी आजदेखि निष्काशन अघि बढाएको हो।

कम्पनीले १ अर्ब ३० करोड ८९ लाख ३७ हजार १०० रुपैयाँ बराबरको ४० प्रतिशत अर्थात ५२ करोड ३२ लाख ५४ हजार ८०० रुपैयाँ बराबरका ५२ लाख ३२ हजार ५४८ कित्ता शेयर निष्काशन गर्ने अनुमति पाएको छ। सोमध्ये २ लाख ६१ हजार ६२९ कित्ता शेयर (२ प्रतिशत) उद्योग प्रभावित चितवन जिल्ला रत्ननगर नगरपालिकाका स्थानीय बासिन्दालाई निष्काशन गरिएको छ।

त्यस्तै, वैदेशिक रोजगारीमा रहेका नेपालीका लागि ४ लाख ९७ हजार ९२ कित्ता शेयर (१० प्रतिशत) छुट्याइएको छ। साथै कम्पनीका कर्मचारीका लागि १ लाख ४९ हजार १२७ कित्ता र सामूहिक लगानी कोषका लागि २ लाख ४८ हजार ५४६ कित्ता सुरक्षित गरिएको छ।

आवेदन न्यूनतम १० कित्ता र अधिकतम ५० हजार कित्तासम्म दिन सकिनेछ। स्थानीय बासिन्दाका लागि आईपीओ असोज २१ गतेसम्म छिटोमा बन्द हुनेछ भने ढिलोमा कात्तिक ९ गतेसम्म खुला रहनेछ। वैदेशिक रोजगारीमा रहेका नेपालीका लागि भने असोज १० गते छिटोमा र असोज २१ गते ढिलोमा बन्द हुनेछ।

कम्पनीको जारी गर्ने रेटिङमा इक्रा नेपालले ‘इक्राएनपी इश्युअर रेटिङ डबल बी’ प्रदान गरेको छ, जसले मध्यम जोखिम संकेत गर्दछ।

शेयर निष्काशन तथा बिक्री प्रबन्धक प्रभु क्यापिटल लिमिटेड रहेको छ। स्थानीय बासिन्दाले रत्ननगरस्थित कार्यालय, प्रभु क्यापिटल कमलादी वा प्रभु बैंकका सौराहा र टाँडी शाखाबाट तथा अनलाइनमार्फत आवेदन दिन सक्नेछन्। वैदेशिक रोजगारीमा रहेका नेपालीहरूले भने सि आस्बा सदस्य बैंक तथा वित्तीय संस्थामार्फत आवेदन दिन सक्नेछन्।

प्रतिक्रिया