काठमाडौं । नेपाल स्टक एक्सचेन्ज (नेप्से) को प्रमुख कार्यकारी अधिकृत (सीइओ) मा चुडामणि चापागाई नियुक्त भएका छन्। सोमबार बसेको मन्त्रिपरिषद्को बैठकले उनलाई सीइओमा चयन गर्ने निर्णय गरेको हो। झापा निवासी चापागाईंले लामो समय सानिमा बैंक तथा सानिमा रिलायन्स लाइफ इन्स्योरेन्समा काम गरेका थिए।
सीइओ छनोट प्रक्रियामा चापागाईंसहित नारदकुमार लुइँटेल, पूर्णप्रसाद आचार्य, बद्रिप्रसाद प्याकुरेल र हेमन्त बस्याल सर्टलिस्टमा परेका थिए। यसअघि मन्त्रिपरिषद्ले लुइँटेललाई नेप्सेको सीइओ बनाउने निर्णय गरे पनि सो निर्णय मुख्यसचिवबाट प्रमाणित नभएकाले कार्यान्वयन हुन सकेको थिएन।
अर्थ मन्त्रालय स्रोतका अनुसार चैत १२ गते बसेको मन्त्रिपरिषद् बैठकले लुइँटेललाई सीइओमा नियुक्त गरेको थियो। पर्यटन व्यवसायमा संलग्न लुइँटेललाई नियुक्त गर्दा आलोचना हुन सक्ने देखिएपछि मन्त्रिपरिषद्ले पुनः निर्णय गर्दै चापागाईलाई नियुक्त गरेको हो।