काठमाडौं । नव उदयमान लेखक शिव सर्मा आफ्नो नयाँ कृति हर्क र हर्कवाद प्रकाशनको अन्तिम तयारीमा जुटेका छन्। समसामयिक नेपाली समाजका विविध आयामलाई समेट्ने उद्देश्यसहित तयार पारिएको उक्त पुस्तक चाँडै नै बजारमा आउने जानकारी उनले दिएका छन्।
लेखकका अनुसार पुस्तकमा नेपाली समाजमा श्रम संस्कृतिको महत्व र यसको आवश्यकतामाथि विशेष जोड दिइएको छ। “हर्क र हर्कवाद” मार्फत हर्कवादलाई केवल विचारधारा नभई व्यवहारिक जीवनशैलीका रूपमा प्रस्तुत गर्ने प्रयास गरिएको उनले बताएका छन्। पुस्तकले समाजमा श्रमप्रतिको दृष्टिकोण कसरी विकास गर्न सकिन्छ भन्ने विषयलाई गहन रूपमा विश्लेषण गरेको छ।
यसैगरी कृतिमा व्यवहारिक शिक्षाको अवधारणा, जिम्मेवार नागरिक निर्माणमा यसको भूमिका तथा अन्तर्राष्ट्रिय सन्दर्भहरूसँग जोडिएका विषयहरूलाई पनि समेटिएको छ। वर्तमान परिवेशमा यस्ता विषयहरूमा बहस आवश्यक रहेको लेखक सर्माको भनाइ छ।
उनका अनुसार “हर्क र हर्कवाद” केवल देशभित्र सीमित नभई विश्वस्तरमा समेत लागू हुन सक्ने अवधारणाका रूपमा प्रस्तुत गरिएको छ। श्रम, जिम्मेवारी र व्यवहारिक शिक्षामा आधारित यो सोचले समाज रूपान्तरणमा महत्वपूर्ण योगदान पुर्याउन सक्ने विश्वास उनले व्यक्त गरेका छन्।
उक्त पुस्तकले पाठकलाई नयाँ सोच र बहसको दिशातर्फ प्रेरित गर्ने अपेक्षा गरिएको छ। कृति हाल प्रकाशनको अन्तिम चरणमा रहेको र केही समयपछि बजारमा उपलब्ध हुने बताइएको छ।