बल्ल सुरु भो सवारी लाइसेन्स छपाई

काठमाडाैं - पछिल्लो १८ महिनादेखि ठप्प भएको सवारी चालक अनुमति पत्र (लाइसेन्स) छपाइको काम शुक्रबार देखि सुरु भएको छ।

यातायात व्यवस्था विभागका उपसचिव तथा सूचना प्रविधि विभागका प्रमुख मुकेश रेग्मीले शुक्रबारदेखि दैनिक ४ हजारको सङ्ख्याले लाइसेन्स छाप्ने काम सुरु भएको बताए। विभागसँग अहिले कार्ड छाप्ने मेशिन एउटा मात्र छ। उक्त मेशिन अहिले चौबिसै घण्टा प्रयोग भइरहेको विभागले जनाएको छ।

जर्मनीको मुलबर कम्पनीले १२ लाख कार्ड पठाउने ठेक्का विभागबाट पाएको छ। जसमध्ये ६ लाख पहिलो चरणमा र दोस्रो चरणमा ६ लाख गरी १२ लाख कार्ड नेपाल आइसकेको छ। तर अहिले देशभरी करिब १६ लाख सेवा ग्राहीहरू कार्डको प्रतिक्षमा छन्। अहिले दैनिक ४ देखि ५ हजारसम्म व्यक्तिले लाइसेन्स पास तथा नवीकरण गर्ने गरेका छन्।

जर्मनीबाट कार्ड आउने बित्तिकै माघको पहिलो साताबाटै कार्ड छाप्न सुरु गर्ने विभागको तयारी थियो। तर त्यसमा प्राविधिक समस्या उत्पन्न भएपछि छपाइको काम ३ महिनासम्म रोकिएको थियो।

विभागका एक प्राविधिक कर्मचारीका अनुसार जर्मनबाट आएको कार्ड र नेपालको कार्ड छपाई गर्ने मेसिनसँग ‘कि’ मिलाउन ढिलो भएकाले प्राविधिक समस्या उत्पन्न भएको थियो। अब प्राविधिक समस्या समाधान भइसकेको रेग्मीले जानकारी दिए।

जर्मनीबाट आएका कार्डको पर्सनालाइजेशन गर्ने जिम्मा भारतको मद्रास सेक्युरिटी पिन्ट्रर्सले पाएको छ। लाइसेन्स कार्ड जर्मनीको मुलबर कम्पनीले पठाएको हो। कार्डको ल्याब टेस्ट गर्ने जिम्मा जर्मनीको फोरगा टेस्ट कम्पनीले पाएको छ।

मद्रास कम्पनीले अझै कार्डको पर्सनालाइजेशन गरेको छैन। विगत ८ वर्षदेखि नेपालको लाइसेन्सको सिस्टमको नियन्त्रण उक्त कम्पनीले गर्दै आएको छ। आजको नागरिक दैनिकबाट 

प्रतिक्रिया