देशभर वर्षा र हिमपातको सम्भावना, सतर्कता अपनाउन आग्रह

काठमाडौँ । जल तथा मौसम विज्ञान विभागले देशभर वर्षा र हिमपातको सम्भावना रहेको भन्दै सतर्कता अपनाउन आग्रह गरेको छ।

विभागले सोमबार सार्वजनिक गरेको पोस्ट–मनसुन विशेष मौसम बुलेटिनअनुसार पश्चिमी वायु र अरब सागरमा बनेको न्यून चापीय प्रणालीको संयुक्त प्रभावले आगामी दुई दिन देशभर मौसम प्रभावित हुने जनाएको छ।

आज रातिदेखि पर्सि बिहानसम्म देशका विभिन्न भागमा बदली र वर्षा हुने पूर्वानुमान गरिएको छ। गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका केही स्थानमा हल्कादेखि मध्यम वर्षा र हिमपात हुनसक्ने विभागले बताएको छ।

त्यस्तै, ती प्रदेशका उच्च पहाडी तथा हिमाली भू–भागमा एक–दुई स्थानमा भारी हिमपात समेत हुन सक्ने सम्भावना रहेको छ।

विभागले सम्भावित वर्षा र हिमपातका कारण दैनिक जनजीवन, पर्वतारोहण, कृषि र पर्यटन क्षेत्रमा असर पर्न सक्ने बताउँदै सर्वसाधारण तथा सम्बन्धित निकायलाई सतर्क रहन अनुरोध गरेको छ।

विशेष गरी उच्च पहाडी र हिमाली क्षेत्रमा यात्रा गर्ने वा बसोबास गर्ने व्यक्तिहरूलाई सावधानी अपनाउन विभागले आग्रह गरेको छ।

प्रतिक्रिया

ताजा समाचार

लोकप्रिय