निफ्राका लगानीकर्तालाई आयो खुसीको खबर

काठमाडौं - नेपाल इन्फ्रास्ट्रक्चर बैंक लिमिटेड (NIFRA) ले चालु आर्थिक वर्षको दोस्रो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण प्रकाशित गरेको छ। विवरण अनुसार गत आर्थिक वर्षको तुलनामा बैंकको नाफा र ईपीएस दुबै बढेको छ।

चालु आर्थिक वर्षको दोस्रो त्रैमाससम्ममा बैंकले ७६ करोड ६१ लाख रुपैयाँ खुद नाफा कमाएको छ। यो गत आर्थिक वर्षको सोही अवधिको तुलनामा ७३.०९ प्रतिशत बढी हो। गत आर्थिक वर्षको सोही अवधिसम्ममा बैंकले ४४ करोड २६ लाख रुपैयाँ खुद नाफा कमाएको थियो। सो अवधिसम्ममा बैंकको वितरणयोग्य मुनाफा ६० करोड ४१ लाख रुपैयाँ रहेको छ।

खुद ब्याज आम्दानी, खुद फि तथा कमिशन आम्दानी, कुल सञ्चालन आम्दानी र सञ्चालन मुनाफा बढेसँगै इम्पेरमेन्ट चार्ज घटेपछि बैंकको खुद नाफा बढ्न पुगेको हो।

समीक्षा अवधिमा बैंकको खुद ब्याज आम्दानी ६०.८८ प्रतिशत बढेको छ भने कुल सञ्चालन आम्दानी ६२.०१ प्रतिशत बढेको छ। त्यसैगरी, बैंकको सञ्चालन मुनाफा ७३.०९ प्रतिशत बढेको छ। समीक्षा अवधिमा बैंकको इम्पेरमेन्ट चार्ज ५ करोड ९१ लाख रुपैयाँबाट घटेर ४ करोड २५ लाख रुपैयाँमा सीमित भएको छ।

नाफासँगै बैंकको प्रतिशेयर आम्दानी अर्थात ईपीएस पनि बढेको छ। समीक्षा अवधिमा बैंकको यस्तो आम्दानी २ रुपैयाँ ६६ पैसा बढेर ७ रुपैयाँ ९ पैसा पुगेको छ। पुस मसान्तसम्ममा बैंकको मूल्य आम्दानी अनुपात ३२.१४ गुणा रहेको छ भने प्रतिशेयर नेटवर्थ १०७ रुपैयाँ ७३ पैसा रहेको छ।

पछिल्लो ६ महिनामा बैंकको चुक्ता पूँजी ८ प्रतिशत बढेको छ भने जगेडा कोष ४१.३० प्रतिशत घटेको छ। त्यस्तै, बैंकको निक्षेप ७१.१२ प्रतिशत बढेको छ भने कर्जा १४३.६३ प्रतिशत बढेको छ।

प्रतिक्रिया