बैंकबाट शेयर कर्जा लिनेको संख्या बढ्यो, १० महिनामा १ खर्ब ६२ अर्ब नाघ्यो

काठमाडौं । मुलुकको समग्र कर्जा विस्तार अपेक्षाकृत सुस्त रहे पनि शेयर बजारमा लगानीका लागि प्रवाह हुने शेयर धितो (मार्जिन) कर्जामा उल्लेखनीय वृद्धि देखिएको छ।

नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको चालु आर्थिक वर्षको वैशाख मसान्तसम्मको वास्तविक वित्तीय प्रतिवेदनअनुसार बैंक तथा वित्तीय संस्थाबाट प्रवाह भएको कुल शेयर धितो कर्जा १ खर्ब ६२ अर्ब ५३ करोड ९५ लाख रुपैयाँ पुगेको छ। यो रकम गत असार मसान्तको तुलनामा २१ अर्ब ८३ करोड रुपैयाँले बढी हो।

बैंकिङ क्षेत्रमा पर्याप्त तरलता रहनु, ब्याजदर घट्दै जानु तथा शेयर बजारप्रति लगानीकर्ताको विश्वास बढ्नुले मार्जिन कर्जाको माग विस्तार भएको देखिएको छ। राष्ट्र बैंकको तथ्यांकले साना लगानीकर्ताभन्दा ठूलो परिमाणको कर्जा लिने लगानीकर्ताको सक्रियता बढी रहेको संकेत गरेको छ।

समीक्षा अवधिमा १ करोड रुपैयाँभन्दा बढीको शेयर धितो कर्जा सबैभन्दा धेरै १७.२ प्रतिशतले बढेको छ। वैशाख मसान्तसम्म यस्तो कर्जा १ खर्ब १५ अर्ब ९४ करोड ६८ लाख रुपैयाँ पुगेको छ, जुन १० महिनाअघि रहेको अवस्थाभन्दा १७ अर्ब रुपैयाँभन्दा बढीले उच्च हो। ठूला तथा संस्थागत लगानीकर्ताका लागि कर्जाको वातावरण अपेक्षाकृत सहज बनेकाले यस समूहको कर्जा विस्तार तीव्र भएको विश्लेषण गरिएको छ।

त्यसैगरी, ५० लाखदेखि १ करोड रुपैयाँसम्मको शेयर धितो कर्जा १४.७ प्रतिशतले बढेको छ। यसले मध्यम तथा व्यावसायिक लगानीकर्ताको सहभागिता पनि क्रमशः बढिरहेको देखाउँछ।

यता, मध्यम र साना लगानीकर्ताले उपयोग गर्ने कर्जाको वृद्धिदर भने तुलनात्मक रूपमा कम रहेको छ। २५ लाखदेखि ५० लाख रुपैयाँसम्मको शेयर कर्जा ११ प्रतिशतले बढेको छ भने २५ लाख रुपैयाँभन्दा कमको कर्जा केवल ६.३ प्रतिशतले मात्र वृद्धि भएको छ।

व्यावसायिक तथा औद्योगिक क्षेत्रमा कर्जाको माग अपेक्षित रूपमा बढ्न नसकेको अवस्थामा बैंकहरूले तुलनात्मक रूपमा सस्तो ब्याजदरमा शेयर धितो कर्जा विस्तार गरेका कारण मार्जिन कर्जाको आकार उल्लेखनीय रूपमा बढेको बैंकिङ क्षेत्रका जानकारहरू बताउँछन्।

प्रतिक्रिया

ताजा समाचार

लोकप्रिय