कपिलवस्तुमा हिन्दु–मुस्लिम विवादपछि निषेधाज्ञा जारी

रूपन्देही । महाराजगन्ज क्षेत्रमा हिन्दु–मुस्लिम समुदायबीच उत्पन्न विवाद चर्कन नदिन प्रशासनले निषेधाज्ञा जारी गरेको छ। जिल्ला प्रशासन कार्यालय कपिलवस्तु ले दिउँसो २ बजेदेखि लागू हुने गरी तोकिएका क्षेत्रभित्र भेला, सभा, जुलुस तथा प्रदर्शनमा रोक लगाएको हो।

जारी सूचनाअनुसार पूर्वमा बर्गदी पुल, पश्चिममा बहादुरगन्ज चोक, उत्तरमा महाराजगन्ज बजार र दक्षिणमा हर्दौना क्षेत्रभित्र कुनै पनि किसिमका सार्वजनिक गतिविधिमा प्रतिबन्ध लगाइएको छ। निमित्त प्रमुख जिल्ला अधिकारी भविश्वर घिमिरे द्वारा जारी सूचनामा शान्ति सुरक्षालाई ध्यानमा राख्दै यस्तो निर्णय गरिएको उल्लेख छ।

वडा नं. २ र ३ को सिमाना क्षेत्रमा मुस्लिम समुदायले ईदको नमाज पढिरहेको र हिन्दु समुदायले नवरात्रको अवसरमा दुर्गा पूजा गरिरहेको समयमा ध्वनि (साउण्ड) कम–बढाउने विषयलाई लिएर विवाद सुरु भएको थियो। जिल्ला प्रहरी कार्यालयका अनुसार दुर्गा मन्दिरमा चर्को आवाजमा बजाइएको भजनको आवाज घटाउने विषयबाट विवाद बढ्दै झडपमा परिणत भएको हो।

झडपका क्रममा प्रहरीसहित दुवै समुदायका एक–एक जना र एक बालक गरी कुल ६ जना घाइते भएका छन्। स्थिति नियन्त्रणमा लिन प्रहरीले ७ राउण्ड अश्रुग्यास प्रहार गरेको जिल्ला प्रहरी प्रमुख सन्तोष आचार्य ले जानकारी दिएका छन्।

प्रहरीले दुवै पक्षलाई संयमता अपनाउन आग्रह गर्दै क्षेत्रमा व्यापक सुरक्षा व्यवस्था कडा पारिएको जनाएको छ।

प्रतिक्रिया