काठमाडौं - विन्ध्यवासिनी फाउन्डेसनले आयोजना गर्न लागेको मुक्तिनाथ विकास बैंकको प्रस्तुतिमा हुने रमपम विन्ध्यवासिनी म्युजिक अवार्ड २०८१ अन्तर्गत विभिन्न पाँच सम्मान घोषणा गरिएको छ। शनिबार काठमाडौंमा बसेको फाउन्डेसनको विशेष भेलाले १५औँ विन्ध्यवासिनी म्युजिक अवार्ड २०८१ मा प्रदान गरिने विभिन्न सम्मान र पुरस्कारका लागि संगीतकर्मी र पत्रकारहरूको नाम सिफारिस गर्दै अनुमोदन गरेको हो।
भेलामा फाउन्डेसनका सल्लाहकार गीतकार किरण खरेल, दिनेश अधिकारी, संगीतकार दीपक जंगम र शक्ति बल्लभ सम्मिलित समितिले यस वर्षको विन्ध्यवासिनी म्युजिक लाइफटाइम अचिभमेन्ट अवार्ड गीतकार राजेन्द्र थापालाई नगद एक लाख रुपैयाँसहित प्रदान गर्न सिफारिस गरेको छ। त्यस्तै, विन्ध्यवासिनी संगीत साधना सम्मान गायिका संगीता शाक्यलाई नगद ५० हजार रुपैयाँसहित प्रदान गरिनेछ।
गायक प्रेमध्वज प्रधानको नाममा स्थापना गरिएको २५ हजार रुपैयाँसहितको प्रेमध्वज संगीत रत्न सम्मान गायिका निशा देशारलाई प्रदान गरिनेछ। त्यस्तै, लोक गायक झलकमान गन्धर्वको नाममा स्थापना गरिएको झलकमान लोक-संगीत सम्मान २०८१ गायक शिरिष देवकोटालाई प्रदान गर्ने निर्णय भएको छ।
यस वर्षको विन्ध्यवासिनी कला पत्रकारिता सम्मान पत्रकार शारदा थापालाई नगद २५ हजार रुपैयाँसहित प्रदान गरिनेछ। फाउन्डेसनका सञ्चालक सुवास रेग्मीका अनुसार भेलाले सिफारिस गरिएका सबै नाम अनुमोदन गरेको छ।
विन्ध्यवासिनी फाउन्डेसनले हरेक वर्ष अवार्ड अघि संगीतकर्मी र पत्रकारहरूको विशेष भेला आयोजना गरी सम्बन्धित व्यक्तिहरूबाट सिफारिस भएका नाम अनुमोदन गर्ने परम्परा कायम राख्दै आएको छ। यस वर्षको रमपम विन्ध्यवासिनी म्युजिक अवार्ड २०८१ आगामी चैत २८ गते काठमाडौंको जमलस्थित राष्ट्रिय नाचघरमा सम्पन्न हुने भएको छ।