काठमाडौं । राहदानी पुस्तिकाको भण्डार घट्दै गएपछि राहदानी विभागले वितरण संख्या एकतिहाइले घटाएको छ। अघिल्ला महिनामा विभाग, प्रशासन कार्यालय र विदेशस्थित नियोगहरूबाट दैनिक ५ देखि ६ हजार राहदानी वितरण हुँदै आएकोमा मंगलबारदेखि दुई हजारभन्दा कम राहदानी मात्रै वितरण गरिएको विभागले जनाएको छ।
विभागले सीमित भण्डारका कारण सेवाग्राहीको मागसँग सन्तुलन मिलाउन दैनिक वितरणको कोटा घटाएर १ हजार मात्र राखेको छ। सोमबार बेलुकादेखि एपोइन्टमेन्ट स्लट पनि यही संख्यामा मात्र खुलाइएको हो। मंगलबार देशभरका प्रशासन कार्यालयहरूले करिब ७ सय राहदानी मात्र जारी गरेका छन्।
विभागका सूचना अधिकारी केशवराज पन्थीका अनुसार अहिले विभागसँग जम्मा १ लाख ७३ हजार प्रति राहदानी बाँकी छ। विभागले नयाँ आपूर्तिकर्ता जर्मन कम्पनीसँग साउनमा गरेको सम्झौताअनुसार फागुन ११ गतेबाट मात्र नयाँ राहदानी पुस्तिका आउने भएकाले वितरणमा कटौती गरिएको हो। उनले अत्यावश्यक परेका व्यक्तिले मात्र राहदानीका लागि आवेदन दिन आग्रह गरेका छन्।
विद्युतीय राहदानीका लागि विभागले गत वर्ष ६४ लाख प्रति पुस्तिका खरिद गर्न बोलपत्र आह्वान गरेको थियो। जर्मन कम्पनी म्युबाबाउर र भेरिडोजलाई आपूर्तिकर्ता चयन गरिएको विभागले जनाएको छ। यसअघि फ्रान्सेली कम्पनी आइडेमियाले आपूर्ति गर्दै आएको थियो। नयाँ र पुराना आपूर्तिकर्ताबीच ‘ह्यान्डओभर’ र ‘टेकओभर’ प्रक्रिया चलिरहेकोले अहिले संक्रमणकालीन अवस्था सिर्जना भएको विभागको भनाइ छ।
विभागले राहदानी अभाव हुन नदिन पुरानै कम्पनीसँग अतिरिक्त राहदानी खरिद गर्न पहल गरेको छ। तर मूल्यमा सहमति हुन बाँकी रहेको छ। आइडेमियाले अहिले प्रति राहदानी १५.५१ अमेरिकी डलर प्रस्ताव गरेको छ, जुन अघिल्लो भन्दा महँगो भएको कारण विभागले अस्वीकार गरेको हो। नयाँ कम्पनीसँगको सम्झौताअनुसार भने प्रति राहदानी मूल्य ८.६१ डलर पर्छ।
महानिर्देशक तीर्थराज अर्यालका अनुसार राहदानी अभाव हुन नदिन विभागले सबै सम्भावित विकल्प खोजिरहेको छ। अत्यावश्यक मागका लागि मात्रै आवेदन दिन अनुरोध गर्दै उनले आवश्यकता परे एमआरपी (मेसिन रिडेबल पासपोर्ट) मार्फत आपूर्ति गर्ने तयारीसमेत भइरहेको बताए।
प्रधानमन्त्री सुशीला कार्कीले पनि राहदानी अभाव रोक्न जर्मन राजदूतसँग पहल गरेकी छन्। उनले छिटो आपूर्ति सुरु गर्न आग्रह गर्दै परराष्ट्र मन्त्रालय र राहदानी विभागका अधिकारीलाई समस्या नहुने गरी तत्काल व्यवस्था मिलाउन निर्देशन दिएकी छन्।