काठमाडौं- नेपाल स्टक एक्सचेञ्ज (नेप्से) ले आइतबारको कीर्तिमानलाई तोड्दै सोमबार नयाँ रेकर्ड कायम गरेको छ। सोमबारको कारोबार २७ अर्ब २४ करोड २९ लाख रुपैयाँ पुगेको छ, जुन आइतबारको २५ अर्ब ७७ करोड ९४ लाख रुपैयाँको रेकर्डभन्दा धेरै हो।
यो उछालसँगै नेप्से परिसूचक ७०.८१ अंकले वृद्धि भएर २९३१.६५ मा पुगेको छ। प्री-ओपन सेसनमा नै १३ अंकले बढेर खुलेको बजार केही तल झरेको भए पनि १२:०६ सम्म उकालो लागिरह्यो। १२:०६ बजेपछि बजार तीन पटक २९ सय भन्दा तल झरेको भए पनि अन्त्यमा २९३० बिन्दुमा बजार बन्द भयो।
बजारले केही दिनदेखि २८ सयको विन्दु पार गर्न नसकेको अवस्थामा आइतबार २८६० बिन्दुमा पुगेर सोमबार २९ सयको बिन्दु पार गर्न सफल भएको छ।
आज ६ करोड ४८ लाख ७६ हजार २१७ कित्ता सेयर किनबेच भएको छ। उच्च कारोबारका साथ १७१ वटा कम्पनीको शेयर मूल्य बढेको छ भने ६८ वटा कम्पनीको शेयर मूल्य घटेको छ। ३ वटा कम्पनीको शेयर मूल्य स्थिर रहेको छ।
समग्र बजारमा उछाल आए पनि इन्भेष्टमेन्ट समूह र उत्पादन समूहमा गिरावट आएको छ। १३ वटा समूहमध्ये इन्भेस्टमेन्ट समूह ०.१९ प्रतिशतले घटेर ११६.५२ बिन्दुमा पुगेको छ भने उत्पादन समूह १.१९ प्रतिशतले घटेर ८२२९.३२ बिन्दुमा पुगेको छ।
प्रतिशतका आधारमा सबैभन्दा बढी जिवन बीमा समूह ५.८५ प्रतिशतले र फाइनान्स समूह ४.८१ प्रतिशतले वृद्धि भएको छ। अन्य वृद्धि भएका समूहहरूमा ट्रेडिङ ४.१३, विकास बैंक ३, हाइड्रो ३.४३, वाणिज्य बैंक २.९५, होटल एण्ड टुरिजम २.९४, लघुवित्त १.०८, म्यूचअल फण्ड ०.९३, निर्जीवन बीमा २.९७ र अन्य समूह १ प्रतिशतले बढेका छन्।
सोमबार ३३९ वटा कम्पनीको शेयर २ लाख ८३ हजार ४७ पटक किनबेच भएको छ। आज १९ वटा कम्पनीको शेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ भने थप २ कम्पनीको शेयर मूल्य ८ प्रतिशतभन्दा बढीले बढेको छ।
शेयर बजारको उच्च वृद्धिसँगै ब्रोक हाउसहरूमा पनि लगानीकर्ताहरूको भिड बढ्न थालेको छ।