काठमाडौँ — नेपाली कांग्रेसको केन्द्रीय कार्यसमितिको कोषाध्यक्षमा उमेश श्रेष्ठ मनोनीत भएका छन्। पार्टी सभापति गगनकुमार थापाले श्रेष्ठलाई उक्त जिम्मेवारी दिएका हुन्।
कार्यवाहक मुख्यसचिव कृष्णप्रसाद दुलालका अनुसार पार्टीको विधान, २०१७ (संशोधनसहित) को धारा २१ (४) अनुसार केन्द्रीय सदस्य श्रेष्ठलाई कोषाध्यक्षमा मनोनयन गरिएको हो।
श्रेष्ठ यसअघि पनि शेरबहादुर देउवा सभापति रहेका बेला पार्टीको कोषाध्यक्षको जिम्मेवारी सम्हालिसकेका छन्। उनी पूर्वराज्यमन्त्री समेत हुन्।
व्यवसायीका रूपमा परिचित श्रेष्ठले शिक्षा र कृषि क्षेत्रमा समेत काम गर्दै आएका छन्। २०७८ साल मंसिरमा सम्पन्न १४औँ महाधिवेशनबाट उनी जनजाति क्लष्टरतर्फबाट केन्द्रीय सदस्य निर्वाचित भएका थिए। पछिल्लो विशेष महाधिवेशनपछि उनलाई हालै मात्र पुनः केन्द्रीय सदस्यमा मनोनयन गरिएको थियो।