सेयर बजार सामान्य अंकले उकालो, कारोबार रकम स्थिर

काठमाडौं । मंगलबार सेयर बजारमा सामान्य सुधार देखिएको छ। नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक ४.९० अंकले बढेर २,६३९.९१ विन्दुमा पुगेको छ। कारोबार अवधिभर बजारमा सीमित सुधार देखिए पनि कुल कारोबार रकम भने झण्डै ७ अर्ब रुपैयाँमा सीमित रहेको छ।

आज ३४९ कम्पनीका एक करोड ३६ लाखभन्दा बढी कित्ता सेयर ७७ हजारभन्दा बढी पटक किनबेच हुँदा ६ अर्ब ९९ करोड रुपैयाँभन्दा बढीको कारोबार भएको नेप्सेले जनाएको छ। कारोबार रकम अघिल्ला दिनको तुलनामा स्थिर देखिए पनि बजार समग्रमा सकारात्मक दिशामा अघि बढेको हो।

समूहगत रुपमा हेर्दा बैंकिङ, वित्त, होटल तथा पर्यटन, जीवन बीमा, उत्पादन तथा प्रशोधन र लघुवित्त समूहका सूचक ओरालो लागेका छन्। बैंकिङ ०.१४, वित्त ०.२९, होटल तथा पर्यटन ०.४८, जीवन बीमा ०.१७, उत्पादन तथा प्रशोधन ०.२३ र लघुवित्त ०.२० प्रतिशतले घटेका छन्। यद्यपि जलविद्युत, व्यापार, म्युचुअल फण्ड, निर्जीवन बीमा, लगानी तथा अन्य समूहका सूचक बढेका छन्, जसमा जलविद्युत समूह १ प्रतिशतभन्दा बढीले उक्लिएको छ।

आजको कारोबारमा थ्रीस्टार हाइड्रोपावर लिमिटेडको सेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ भने रसुवागढी हाइड्रोपावर कम्पनीको सेयर मूल्य सबैभन्दा धेरै ६.०९ प्रतिशतले घटेको छ। समग्रमा बजारमा मिश्रित प्रभाव देखिए पनि नेप्से परिसूचक भने हरियालीमा बन्द भएको छ।

प्रतिक्रिया