काठमाडौं। नयाँ सरकार गठन भएपछि उत्साहजनक रूपमा बढेको शेयर बजारमा मंगलबार भने ठूलो गिरावट देखिएको छ। तीव्र उतारचढावका बीच नेप्से दोहोरो अंकले घटेर बजार बन्द भएको छ।
यस दिन परिसूचक १४५ अंकले घटेर समग्र बजार २५५१ बिन्दुमा आइपुगेको छ। नेप्से घटे पनि आज कारोबार रकममा भने उत्साह देखिएको छ। नेप्सेको इतिहासमै आज सबैभन्दा धेरै २३ अर्ब ७१ करोडभन्दा बढीको कारोबार भएको छ। आज कारोबार भएका ३२२ कम्पनीमध्ये केवल ८ कम्पनीको मात्र शेयर मूल्य बढेको छ भने बाँकी सबै कम्पनीको शेयर मूल्य घटेको छ। त्यस्तै, आज २ दर्जन हाराहारी कम्पनीको शेयर मूल्य ९ प्रतिशतभन्दा धेरैले घटेको छ।
हिमालयन रिइन्स्योरेन्स कम्पनीको सबैभन्दा धेरै शेयर किनबेच हुँदा उपसूचकमा भने ८ प्रतिशतसम्मको गिरावट आएको छ। आज फाइनान्स, विकास बैंक, होटल समूहमा अत्यधिक गिरावट आएको छ। त्यस्तै, बैंक क्षेत्र पनि आज रातै भएको छ।
निरन्तर उकालो लागेको शेयर बजार यो तहमा घट्नुलाई लगानीकर्ताले भने सामान्य लिएको बताउँछन्। ठूला लगानीकर्ताले नाफा सुरक्षित गर्न खोज्दा यो अवस्था आएको धेरैको बुझाइ छ।