काठमाडौं । नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) ले ‘Nepse AI’ नामक एपमार्फत ठगी बढिरहेको भन्दै सर्वसाधारणलाई सचेत रहन आग्रह गरेको छ। पछिल्लो समय फेसबुक, इन्स्टाग्राम, टिकटक लगायतका सामाजिक सञ्जालमा शेयर बजारको विश्लेषण गर्ने भन्दै आकर्षक विज्ञापन देखाएर प्रयोगकर्तालाई उक्त एप डाउनलोड गर्न लोभ्याउने घटना बढेको सीआईबीको विज्ञप्तिमा उल्लेख छ।
ब्युरोका अनुसार, एप इन्स्टल गरी पासवर्ड तथा संवेदनशील विवरण प्रविष्ट गरेपछि प्रयोगकर्ताको डिजिटल उपकरणमा पूर्ण नियन्त्रण लिइने र बैंक खाताबाट रकम चोरी हुने घटना दर्ता भएका छन्। प्रहरीले एक व्यक्तिको २८ लाख ६१ हजार रुपैयाँ अन्य खातामा ट्रान्सफर भएको र पीडितको मोबाइलमा ‘ब्ल्याङ्क स्क्रिन’ देखिएको घटना सार्वजनिक गरेको छ। यस्तै, यस्ता घटनासम्बन्धी केही उजुरीहरू पनि प्राप्त भएका छन्।

सीआईबीले यस्तो स्क्यामबाट जोगिनका लागि निम्न सावधानी अपनाउन सुझाव दिएको छ —
सम्भव भएमा टू–फ्याक्टर अथेन्टिकेशन कोड SMS मार्फत प्रयोग गर्ने।
पासवर्ड समय–समयमा परिवर्तन गर्ने।
‘Nepse AI’ लगायत विज्ञापन लिंक वा अपरिचित एप इन्स्टल नगर्ने।
आफ्नो उपकरणमा ‘AnyDesk’, ‘TeamViewer’ वा अन्य रिमोट एक्सेस कसैलाई अनुमति नदिने।
आधिकारिक स्रोत ‘Google Play Store’ वा ‘Apple App Store’ बाट मात्र एप डाउनलोड गर्ने।