९० करोडको आईपीओ निष्कासन हुने


काठमाण्डौं–जलविद्युत कम्पनीले एकपछि अर्को आईपीओ निष्कासन गरिरहेको बेला अर्को एक जलविद्युत कम्पनीले पनि आईपीओ निष्कासन गर्ने भएको छ ।
आयोजना प्रभावित स्थानीयका लागि आईपीओ निष्कासन गरेको मध्यभोटेकोशी जलविद्युत कम्पनीले आम सर्वसाधारणका लागि ९० करोड रुपैयाँको आईपीओ निष्कासन गर्न लागेको हो । कम्पनीको चुक्तापुँजीको १५ प्रतिशतले हुन आउने १०० रुपैयाँ अंकित दरका कुल ९० लाख कित्ता आईपीओ निष्कासन गर्ने तयारी गरेको बिक्री प्रबन्धक ग्लोबल आईएमई क्यापिटलका प्रमुख कार्यकारी अधिकृत पारसमणि ढकालले बताए । ढकालका अनुसार दसैँ अगाडि मध्यभोटेकोशीको आईपीओ निष्कासन गर्ने तयारी छ । त्यसका लागि लागि द्रुतगतिमा प्रक्रिया अगाडि बढाएको छ । हाल पहिलो चरणमा सिन्धुपाल्चोकका आयोजना प्रभावित र स्थानीयका लागि निष्कासन गरिएको आईपीओको बाँडफाँड गर्ने तयारी भइरहेको छ । 


मध्यभोटेकोशी जलविद्युत कम्पनीका प्रमुख कार्यकारी अधिकृत रामगोपाल शिवाकोटीले पनि दसैंअगाडि नै सर्वसाधारणका लागि आईपीओ निष्कासन गरिने बताए ।  नेपाल धितोपत्र बोर्डबाट मध्यभोटेकोशीले चुक्तापुँजी ६ अर्ब रुपैयाँको २५ प्रतिशतबराबरको १ अर्ब ५० करोड रुपैयाँबराबरको आईपीओ निष्कासन गर्ने अनुमति पाएको थियो । जसमा १० प्रतिशतले हुन आउने ६० करोड रुपैयाँ अर्थात ६० लाख कित्ता सेयर कम्पनीले पहिलो चरणमा सिन्धुपाल्चोकका आयोजना र प्रभावित र स्थानीयका लागि निष्कासन गरिसकेको छ ।

पहिलो चरणको आईपीओ बाँडफाँडपछि कम्पनीले दोस्रो चरणमा सर्वसाधारणका लागि ९० लाख कित्ता आईपीओ निष्कासन गर्नेछ । कुल कित्तामध्ये ३ लाख ६० हजार कित्ता अर्थात सर्वसाधारणमा निष्कासन हुने सेयरको ४ प्रतिशत सेयर कम्पनीका कर्मचारीलाई र ४ लाख ५० हजार कित्ता अर्थात सर्वसाधारणमा निष्कासन हुने सेयरको ५ प्रतिशत शेयर सामूहिक लगानी कोषका लागि सुरक्षित गरिएको छ । बाँकी ८१ लाख ९० हजार कित्ता साधारण सेयर सर्वसाधारणमा सार्वजनिक निष्कासन गरिने कम्पनीले जनाएको छ । 


आईपीओको सहनिष्कासन तथा बिक्री प्रबन्धकका रुपमा प्रभु क्यापिटल, एनआईबिएल एस क्यापिटल, लक्ष्मी क्यापिटल, सिभिल क्यापिटल, सानिमा क्यापिटल र सीबीआईएल क्यापिटल रहेका छन्।
 

प्रतिक्रिया