तीन विकास बैंक र तीन वित्त कम्पनीलाई राष्ट्र बैंकको कारबाही

नेपाल राष्ट्र बैंकले तीन विकास बैंक र तीन वित्त कम्पनीलाई कारबाही गरेको छ । केन्द्रीय बैंकको वित्तीय संस्था सुपरीवेक्षण विभागले विकास बैंकअन्तर्गत मुक्तिनाथ विकास बैंक, सप्तकोसी डेभलपमेन्ट बैंक र नारायणी डेभलपमेन्ट बैंकलाई कारबाही गरेको हो ।

त्यस्तै, वित्त कम्पनीमा प्रोग्रेसिभ फाइनान्स, गुडविल फाइनान्स र गुह्येश्वरी मर्चेन्ट बैंकिङ एन्ड फाइनान्स कारबाहीमा परेका हुन् । मुक्तिनाथ विकास बैंकबाट व्यक्तिगत तथा सामूहिक जमानीमा प्रवाह भएको विपन्न वर्ग कर्जाका ग्राहकबाट शुल्क लिई खडा गरेको ग्राहक संरक्षण कोषमा जम्मा भएको रकमको दुरुपयोग भएको भन्दै सञ्चालक समितिका अध्यक्ष र प्रमुख कार्यकारी अधिकृतलाई सचेत गराएको विभागको प्रतिवेदनमा उल्लेख छ ।

सप्तकोसी डेभलपमेन्ट बैंकको सञ्चालक समितिले संस्थाका स्वतन्त्र सञ्चालकलाई पहिलो कार्यकाल सकिएपछि पनि स्वतन्त्र सञ्चालककैे हैसियतमा सञ्चालक समितिको बैठकमा निरन्तरता दिएको प्रतिवेदनमा उल्लेख छ । उनलाई दोस्रो कार्यकालका लागि समेत स्वतन्त्र सञ्चालकका रूपमा पुनः नियुक्त गरेको पाइएकाले त्यस किसिमको कार्य नगर्न संस्थाको सञ्चालक समितिलाई सचेत गराएको छ ।

त्यस्तै, बैंकले जारी गरेको आधारदर गणनासम्बन्धी कार्यविधि, २०६९ बमोजिम गणना गर्नुपर्ने कर्जाको आधार दरलाई प्रमुख कार्यकारी अधिकृतले राष्ट्र बैंकको निर्देशनविपरीत आफ्नो तजबिजले एकै महिनामा पटक–पटक आधारदर परिवर्तन गरेको उल्लेख छ । कर्जाको आधारदरसम्बन्धी केन्द्रीय बैंकमा पेस हुँदै आएको विवरण समेत यथार्थ नभएको पाइएकाले सचेत गराई त्यस्तो कार्य तत्काल बन्द गर्न निर्देशन दिइएको उल्लेख छ । नारायणी डेभलपमेन्ट बैंकलाई भने दुई जरिवाना गराएको छ । यो विकास बैंकलाई केन्द्रीय बैंकले १२ हजार ८ सय ४६ रुपैयाँ र दुई लाख ४१ हजार नौ सय २४ रुपैयाँ जरिवाना गराएको हो ।

वित्त कम्पनीमा प्रोग्रेसिभ फाइनान्स र गुडविल फाइनान्सका सञ्चालक समिति र प्रमुख कार्यकारी अधिकृतलाई सचेत गराएको छ भने गुह्येश्वरी मर्चेन्ट बैंकिङ एन्ड फाइनान्सका प्रमुख कार्यकारी अधिकृतलाई सचेत गराएको छ । आजको नयाँ पत्रिका दैनिकबाट

प्रतिक्रिया